देश

काभ्रेपलाञ्चोकका १० गाविसमा अझै सुरु भएन पुनःनिर्माण

काभ्रेपलाञ्चोकका १० गाविसमा अझै सुरु भएन पुनःनिर्माण
माघ १७ । काभ्रेपलाञ्चोकका दश गाविसमा अझै पनि पुनःनिर्माणको काम सुरु हुन सकेको छैन । जिल्लाको गोकुले, मादनकुँडारी, फलामेटार, फलाटे, सिसाखानी, ठूलो पर्सेल, फोक्सिङटारलगायत दश गाविसमा सिकर्मी, डकर्मी सहित प्राविधिकको अभाव र दुर्गम क्षेत्र भएका कारणले पनि पुनःनिर्माणको काम सुरु हुन नसकेको सहरी विकास भवन डिभिजन कार्यालयले जनाएको छ। विगतमा इन्जिनियरको राजीनामाले पनि पुनःनिर्माणको काम सुस्त भएको हो भन्दै कार्यालयका प्रमुख अष्टलाल सुवालले ती गाविसमा छिटै काम हुने गरी तयारी भएको जिकिर गरे। प्रमुख जिल्ला अधिकारी शिव शिंखडाले पुनःनिर्माणको काम नाम मात्रैको भएकाले सन्तुष्टि जनाउने ठाउँ छैन भन्दै अहिलेसम्म २८ प्रतिशत भन्दा बढी काम नभएकाले अब यसलाई छिटोभन्दा छिटो निष्कर्षमा पुर्‍याउन आवश्यक रहेको बताए। जिल्लाको फलाँटे र भुम्लुटार गाविसमा लालपुर्जा नभएका कारण पहिलो किस्ताबापतको रकम पाउन पनि स्थानीयवासीलाई अप्ठ्यारो परेको जानकारी दिँदै प्रजिअ शिंखडाले भूमिहीन र सुकुम्बासीको समस्याले पनि पुनःनिर्मााणको काम प्रभावित भएको बताए। स्थानीय विकास अधिकारी, टेकराज निरौलाले जिल्लाको १२ गाविसमा मात्रै पूर्णरुपमा लाभग्राहीसँग सम्झौता भएको जानकारी दिँदै भूकम्पपीडितका लागि दोस्रो किस्ता रकम वितरण गर्न निर्देशिका बन्न ढिलाइ भएकाले समस्या देखिएको बताए। जिल्लाका अन्य गाविस र नगरपालिकामा भने पुनःनिर्माणको काम धमाधम भइरहेको छ । अहिलेसम्म जिल्लाको ७५ गाविस र पाँच नगरपालिकामा कुल ६७ हजार ७११ लाभग्राहीमध्ये ६२ हजार ४१३ जनासँग मात्रै अनुदान सम्झौता भएको जिविसको तथ्याङ्कमा उल्लेख छ।

विशेष