समाज

चितवन राष्ट्रिय निकुञ्जमा चारवटा अर्ना

चितवन राष्ट्रिय निकुञ्जमा चारवटा अर्ना
माघ–१७ । कोसीटप्पुबाट थप दुईवटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ । साेमबार बिहान दुई पोथी अर्नालाई चितवन राष्ट्रिय निकुञ्जको पदमपुरमा छाडिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले यसअघिका सहित एक भाले र तीन पोथी अर्ना निकुञ्जमा आइपुगेको बताए। आफू अहिले पनि कोसीटप्पुमा थप अर्ना समात्नका लागि लागिरहेको उनले बताए । नियमित रुपमा समाउन सकिएका अर्नाहरु चितवन पठाइने उनको भनाइ छ । यसअघि गत शुक्रबार दुई अर्ना पहिलोपटक चितवन निकुञ्जमा ल्याइएको थियो । चितवनमा पाँच भालेसहित २५ वटा अर्ना ल्याउने योजना छ । सो अर्ना ल्याउने कार्यक्रम निरन्तर चलिरहने कँडेलले बताए । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा अर्ना राख्नका लागि खुल्ला खोर (इन्क्लोजर) निर्माण गरिएको छ । बाघले अर्नाको सिकार गर्ने भएकाले खुल्ला खोरमा राख्ने व्यवस्था गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको सङ्ख्या बढेकाले अर्ना बथानमा परिणत नभएसम्म खुल्ला खोरमै राख्ने तयारी गरिएको कँडेलले बताए । बाघजस्ता मांसाहारी जनावरबाट बच्नका लागि प्रकृतिले अर्नालाई बथानमा बस्ने स्वभाव दिएको उनले बताए । कँडेलका अनुसार दुई हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा खोर निर्माण गरिएको छ । भुइँमा सोलिङ गरेर जालीलाई पिसिसीले च्यापेर छ फिट अग्लो खोर बनाइएको छ । खोर वरिपरि सोलार फेन्सिङ गरिएककाले अन्य जनावर खोरभित्र पस्न सक्ने छैनन् । इन्क्लोजरभित्र चार सय मिटर लामो र १५ मिटर चौडा भएको पानीको ताल बनाइएको छ भने बाँकी भाग घाँसे मैदान छ । अर्ना ल्याउने कार्य सम्पन्न भएसँगै शुक्लाफाँटाबाट बाह्रसिङ्गे ल्याउने कँडेलले जानकारी दिए । बाह्रसिङ्गे पनि खुल्ला खोरभित्र नै राखिने छ । त्यसलगत्तै बर्दियाको गुलरिया नगरपालिकाको खैरापुरमा रहेको कृष्णसार संरक्षण क्षेत्रबाट कृष्णसार ल्याइने भएको छ । जसका लागि पूर्वी चितवनको टिकौलीमा खुल्ला खोर बनाउने तयारी गरिएको छ । एउटै स्थानमा रहेका वन्यजन्तुलाई फरक फरक स्थानमा स्थानान्तरण गर्ने कार्यअन्तर्गत अर्ना स्थानान्तरण गरिएको हो । एउटै स्थानमा रहँदा महामारी रोगबाट बचाउन नसकिने हुँदा वन्यजन्तुलाई फरक फरक स्थानमा स्थानान्तरण गरिँदै आएको छ । यसअघि चितवनबाट पाँचवटा एकसिङ्गे गैँडा बर्दिया स्थानान्तरण गरिएको थियो । रासस

अर्ना कोसीटप्पु चितवन राष्ट्रिय निकुञ्ज

विशेष