समाज

पूर्व-पश्चिम राजमार्गका अधिकांश पुल जोखिममा

पूर्व-पश्चिम राजमार्गका अधिकांश पुल जोखिममा
पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाटखण्ड अन्तर्गत नवलपरासीमा रहेको लोकाहा खोलाको पुल भत्किएको डेढ वर्ष भन्दा बढी भयो । उक्त पुल भत्किएपछि सुरुमा ‘डाइभर्सन’ गरेर र पछि ‘बेलिब्रिजको’ माध्यमबाट सवारी आवतजावत खुलाइएको छ । तर, भत्किएको पुलको विकल्पमा निर्माणाधीन नयाँ पुल यस वर्ष पनि पूरा हुने निश्चित छैन । यस्तै, यसै राजमार्ग खण्डको नवलपरासीमै रहेको अर्को महत्वपूर्ण बहुलाखोलाको पुलमा गत मङ्सिर २६ गते एकाबिहानै पूर्वबाट आउँदै गरेको मालबाहक ट्रकले ठक्कर दियो । अधिकांश फलामको साधनको संरचनाबाट निर्माण गरिएको उक्त पुलको मुखैको भाग सडकको सतहभन्दा तल दबेर क्षतिग्रस्त अवस्थामा पुग्यो । धेरै दिनपछि सो क्षेत्रमा पनि ‘ड्राइभर्सन’ निर्माण गरेर सवारी साधन आवतजावत खुलाइयो । झन्डै तीन महिनापछि बल्ल पुलको मर्मतकार्य सुरु गरिएको छ । तीन वर्ष पहिले यसै राजमार्ग क्षेत्रको महत्वपूर्ण मानिने जयश्री पुल भत्कियो । सडक विभागले धैरै दिन लगाएर पुलको केही तलबाट ड्राइभर्सन निर्माण गरेर सवारी साधन आवतजावत त खुलायो तर, पुलमा प्रयोग हुने फलामे साधन विदेशबाट आयात गर्न ढिलाइ हुँदा झन्डै एक वर्षमा मात्र पुल मर्मत हुनसक्यो । पूर्व–पश्चिम राजमार्गको मध्यक्षेत्र बुटवल–नारायणघाट खण्डलाई जोड्ने झन्डै तीन दर्जन महत्वपूर्ण पुलमध्ये अधिकांशको निर्माण संरचना एउटै प्रकृतिको छ । विसं २०३० सालको अवधिमा निर्माण गरिएका यी पुलको संरचना ट्रसको प्रयोग गरेर निर्माण गरिएको छ । यस्ता प्रकृतिका पुलको संरचना कमजोर बन्दै गएका छन् । यसैले यी पुलको अवस्था जीर्ण र जोखिमपूर्ण बन्दै गएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनी बताउँछन् । 'प्राविधिक रुपले पुलमा समस्या आएको होइन तर यस्ता खालको पुलमा एक ठाउँमा समस्या आउँदा अन्य भाग समेत खल्बलिने समस्याले पुलको जोखिम बढेको हो', उनले भने । फलामको प्रयोगबाट निर्माण गरिएका यस्ता पुल तुलनात्मक रुपले बलियो हुने र लामो समय टिक्ने तर, पुलको एउटा भागमा क्षति पुग्दा अन्य संरचना समेत बिग्रने भएकाले समस्या बढी देखिने डिभिजन सडक कार्यालय प्रमुख मरासिनी बताउँछन् । 'पुलको पूरै संरचनामा समस्या नभए पनि एउटा भागमा क्षति हुँदा अन्यत्र धेरै समस्या आउँछ', उनले भने । प्रमुख राजमार्ग क्षेत्रका महत्वपूर्ण पुल भत्किएर समयमै मर्मत नहुने र वैकल्पिक व्यवस्था समेत समयमा नहुँदा सवारी आवागमन अवरुद्ध भएर राजमार्गमा कैयन् दिन सर्वसाधारणले सास्ती बेर्होनु परेको छ । सडक डिभिजन प्रमुख मरासिनीकाअनुसार भत्किएका पुलको मर्मत र वैकल्पिक व्यवस्थाको व्यवस्थापनमा ढिलाइ भएको स्वीकादै सबै प्रक्रिया पुर्‍याएर काम सुरु गर्दा र वर्षायाममा खोलामा पानी बढ्दा केही ढिला भएको हो । उनले राजमार्गमा रहेका अन्य पुलको पनि संरक्षणका उपाय समयमै नखोज्ने हो भने पुल भत्किने समस्या झनै बढेर जाने बताए । यसका लागि सडक विभागमा आफूहरुले पुल जोगाउन तत्काल सबै पुलमा फलामको ‘क्र्यास ब्यारियर’ राख्नैपर्ने सुझावसहित त्यसको लागत अनुमान गरी पठाइसकिएको बताए ।

Pul Nirman पूर्व–पश्चिम राजमार्ग

विशेष