समाज

वैदेशिक रोजगारीबाट फर्केका यी युवकले आफ्नै श्रीमती अर्काको अंगालोमा देख्नुप-यो

न श्रीमती न सम्पत्ति, मनै रुवाउँछ यी वास्तविक कथाले

वैदेशिक रोजगारीबाट फर्केका यी युवकले आफ्नै श्रीमती अर्काको अंगालोमा देख्नुप-यो

मञ्जु मिश्र

काठमाडौं । सतुंगलका ४६ वर्षीय तीर्थ जिसी कतारमा ६ वर्ष र मलेसियामा दुई वर्ष बिताएर गत भदौ १२ गते नेपाल फर्किए । २५ वर्षदेखि भाडामा बस्दै आएको जिसी परिवारले वैदेशिक रोजगारबाट कमाएको पैसा जम्मा गरेर सतुंगलमै तीन आना जग्गा किनेको थियो । तीर्थले सो जग्गा श्रीमती जानकी जिसीको नाममा पास गरेका थिए । उनीहरुले घर बनाउन नक्सा पनि पास गरे ।

तीर्थका छोरा र छोरी दुबै जापानमा छन् । घर बनाउने भनेपछि जापानमा रहेका छोरा छोरी पनि पाँच लाख रुपैयाँ पठाए । उनीसँग आफैले बिदेशबाट ल्याएको साढे चार लाख रुपैयाँ पनि थियो । घरको नक्सा बनाउने बेलासम्म ४५ वर्षीया श्रीमतीले उनलाई पूरै साथ दिएकी थिइन् । दुःख सुखका कुरा साटेकी थिइन् । तर, जब घरको नक्सा पास भयो, उनी पूरै बदलिन थालिन् ।

जब घरको नक्सा पास भयो, विदेशमा हुँदा टेलिफोनमा अत्यन्तै राम्रो र मीठो कुरा गर्ने श्रीमतीको व्यवहार देखेर उनी चकित परे । श्रीमतीले सोच्दै नसोचेको व्यवहार देखाउन थालेपछि उनको होस हवास नै गुम्यो ।

‘जब घरको नक्सा पास भयो, श्रीमतीको व्यवहार एकाएक परिवर्तन भयो । मसँग दिनहुँजसो झगडा गर्न थाली । पछि त मलाई छाडिदेउसमेत भन्न थाली । छोराछोरी कमाउने भएपछि अब सुखका दिन आए भन्ठानेर म एकतिर खुसी पनि थिएँ, अबको जीवन घर बनाएर श्रीमतीसँग हाँसी खुसी बिताउने मेरो इच्छा थियो । तर श्रीमती त पूरै परिवर्तन भइसकेकी रहिछे, मैले समयमै थाहा पाउन सकेको भए पनि यो स्थिति आउने थिएन,’ तीर्थले नेपाल आजसँग भने ।

तीर्थ नेपाल आएपछि त्यतिबेला झस्के जतिबेला आफ्नै सामु श्रीमती अर्काे लोग्ने मान्छेसँग जिस्किएर कुरा गर्न थालिन् । उनले सम्झाउन खोजे । तर श्रीमती उनीभन्दा धेरै टाढा गइसकेकी थिइन् । एक दिन राति उनी बसेको कोठामा ढुंगा प्रहार भयो । होहल्ला पनि भयो । त्यसको भोलिपल्ट त श्रीमती नै बेपत्ता भइन् ।

दसैं घर आँगनमा आइसकेको थियो । तर दसैं पूरै खल्ला बनाउँदै फूलपातीकै दिन असोज ११ गतेदेखि उनकी श्रीमती उनीसँग छैनन् । न त पैसा पनि । अलिहे उनीसँग न जग्गाधनी प्रमाणपत्र नै छ । घरको नक्सा पनि श्रीमतीले नै लिएर गएको उनले बताए ।

नेपाल प्रहरीको कालीमाटीस्थित महिला तथा बालबालिका केन्द्रको प्रांगण भेटिँदा तीर्थ आफ्ना ७५ वर्षीय बाबुसँगै थिए । वृद्ध बाबु छोरा दुबैको अनुहार कालो थियो । उनीहरु थकित मुद्रामा थिए । न्यायको खोजीका लागि उनीहरु त्यहाँ आएका थिए ।

तीर्थ आफ्नो वृद्ध बाबुलाई लिएर त्यहाँ श्रीमती हराएको सूचना दिन आएका रहेछन् । ‘मलाई श्रीमती कोसँग गएको छ भन्ने थाहा छ, सँगै हुँदा मैले उसलाई पटक पटक मेरै कोठामा पनि भेटेको छु, मैले यस विषयमा श्रीमतीलाई सोध्दा उनले केही होइन भनेर उल्टै गाली गरिन्,’ तीर्थले भने, ‘साँचो त यो पो रहेछ ।’
त्यसो त प्रहरी कार्यालयमा आउँदा उनीहरुले राई थरका एक जना पुरुषलाई पनि सँगै ल्याएर प्रहरीकोमा उभ्याएका थिए । सोही पुरुषले आफ्नी श्रीमतीलाई बेपत्ता बनाएको उनको आरोप थियो । तर ती पुरुष भने आरोप सत्य नभएको बताइरहेका थिए । प्रहरीले उनको मोबाइलमा भने तीर्थकी श्रीमतीको फोटो भने फेला पारेको थियो ।

आमा हराएपछि जापानमा रहेका तीर्थका छोरा छोरी तनावमा छन् । उता, तीर्थ भने श्रीमतीले सबै सम्पत्ति लिएर गएकोमा तनावमा छन् ।

त्यस्तै मलेसियामा कार्यरत एक नेपाली युवाले फेसबुक लाइभमार्फत हेर्ने जतिलाई रुवाउने भिडियो पोष्ट गरे । सानै उमेरमा सिन्धुपाल्चोककै गोमा सापकोटासँग विवाह गरेका उनले परदेशमा पैसा कमाएर फर्किने योजना बनाएका थिए । सानो छोरो र ज्यान भन्दा प्यारी श्रीमतीलाई घरमा छोडेर मलेशियाको पेनाङ पुगेका ती युवाकी श्रीमती दशंैको बेला दाँत दुख्यो अस्पताल जान्छु भन्दै हिंडेकोमा अहिलेसम्म फर्किएकी छैनन् । उनको एउटा सानो छोरो छ । छोरो मम्मी खै भन्दै रोइरहेको सुनाउँदा उनी आफै भक्कानिएर रुन थाले ।

आफू श्रीमती बिना बाँच्न नसक्ने भएकाले जहाँ जो सँग भएपनि घर फर्किएर आउन उनले बिलाप गरे । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उक्त भिडीयोको लिंक हामीले यहाँ राखेका छौं ।

त्यस्तै मोरङ ४ निवासी ४० वर्षीय बलराम सापकोटाको जीवनमा दुईपटकसम्म भवितब्य आइलाग्यो । पहिलो, घरबाट बाजागाजा गरेर ल्याएकी श्रीमतीले साना दुई छोरा छोरी छोडेर अर्कैसँग गइन् । उनकी श्रीमती अर्कैसँग त गइन्, अफगानिस्तानमा तीन वर्ष दुःख गरेर जोडेको सबै सम्पत्ति कुम्ल्याएर गइन् । घरमा छोराछोरीको रेखदेख गर्ने कोही नभएपछि उनी फर्केर आए । सबैले दोस्रो विवाह गर्न भनेपछि मन नलागी नलागी गरे ।

उनले दोस्रो विवाहपछि छोराछोरी उनैको जिम्मा लगाएर बहराइन गए । तर बहराइनबाट पठाएको १२ लाख नगदसहित दोस्री श्रीमती पनि अर्कैसँग भागिन् । उनको जहाजै डुब्यो । कर्म नै यस्तो सोचेर उनले कहीँकतै उजुरी पनि गरेनन् । ‘लाउँ लाउँ खाँउ खाउँ गर्ने उमेर अर्काको देशमा गुमाए, पैसा पनि जोडें तर न उमेर रह्यो न पैसा,’ उनले भने ।

विदेश जानु र घरमा पठाएको पैसा गरगहना कुम्ल्याएर श्रीमती भाग्नु अहिले नेपालको प्रमुख समस्या बनेको छ । तैपनि वैदेशिक रोजगारमा जानेको संख्या वर्षैपिच्छे दोब्बरले वृद्धि भइरहेको छ ।

प्रहरी प्रभाग महाशाखा कालीमाटी महिला तथा बालबालिका केन्द्रका एक जना प्रहरी सहायक अधिकृतले दिनहूं रुपमा यस्ता केस ४ देखि ५ वटासम्म छलफलका लागि आइरहेको बताइन् । उनले गत भदौदेखि असोज २३ गतेसम्म १२ जना हराइरहेका महिलाहरुको खोजी गरीदिन निवेदन दर्ता भएको बताइन् ।

 

विशेष