विवाहको तीन महिनामै पतिबाट वाक्क भएकी थिइन् रेखा, यस्तो छ आत्महत्याको रहस्य
एजेन्सी । बलिउड अभिनेत्री रेखाको व्यक्तिगत जिन्दगी सधैं विवादमा रहेको छ । यासिर उस्मनद्वारा लिखित किताब ‘रेखा ः द अनटोल्ड स्टोरी’ मा उनको जिन्दगीको धेरै कुरालाई केन्द्रित गरिएको छ । उक्त किताबमा उनको विवाहबारे पनि चर्चा गरिएको छ ।
किताबमा रेखाले श्रीमान मुकेश अग्रवालसँगको सम्बन्धबाट टाढिन थालेको र श्रीमानबाट विवाह गरेको तीन महिनामै वाक्क भएको कारण खुलाइएको छ ।
उक्त किताबमा जनाइएअनुसार, ४ मार्च, १९९० (पहिला भेटको ठिक एक महिना पछि) मुकेश अग्रवाल रेखाका साथी सुरिन्दर कौरसँग रेखाको घर पुगे र विवाहका लागि प्रस्ताव राखे । खास कुरा यो थियो की, दुवैको परिवार मुम्बईमा थिएनन् । त्यसकारण उनीहरुले विवाह गर्ने निर्णय लिए ।
आधा रातमा मन्दिरमा विवाह
साँझ रेखाले रातो रंगको सारी लगाइन् र मुकेशसँग विवाहको लागि मुम्बईस्थित मुक्तेश्वर देवालय पुगिन् । राति जब मुकेश र रेखा मुक्तेश्वर देवालय पुगे त्यसबेला त्यहाँका पुजारी सुतिसकेका थिए । मुकेशले पुजारीलाई उठाए र विवाह गर्न आएको बताए । रातको साढे १० बजे पुजारीले मन्त्र पढे । त्यसबेला मुकेशको उमेर ३७ र रेखाको ३५ वर्ष थियो ।
रेखा र मुकेशको हनिमुन
विवाहको २४ घण्टापछि नै रेखा र मुकेश हनिमुनका लागि लण्डन गए । सुरुवाती दिनहरु राम्ररी बित्यो । किनभने मुकेश र रेखा पहिलोपटक एकअर्कासँग समय बिताइरहेका थिए । तर, केही समय सँगै बिताएपछि रेखालाई आफू र मुकेश निकै फरक भएको थाहा भयो । रेखालाई मुकेशको एक दिनमा धेरै औषधि सेवन गर्ने बानीले वाक्क बनाएको थियो । तैपनि रेखाले जिन्दगीभर सँगै बस्नुपर्छ भनेर चित्त बुझाइन् । उनी आफैंसँग कुरा गर्थिन्, ‘मैले यस व्यक्तिलाई सफल बनाउनु छ । के रेखा चाहेको काम गर्न सक्दिनन् ?’ दुवैजनाले लण्डनमा एक साता भन्दा बढी समय बिताए । रेखाले धेरैजसो समय मुकेशलाई निराश भएको मात्र देख्थिन् र एकदिन मुकेशले रेखाको आँखामै हेरेर भने, ‘मेरो जिन्दगीमा पनि एक एबी छिन् ।’
मुकेशले रेखालाई जो एबीकोबारेमा बताएका थिए, ती उनकी साइकोथरापिस्ट आकाश बजाज थिइन् । जसले दश वर्षदेखि उनको उपचार गर्दै आएकी थिइन् । आकाश डिभोर्सी र दुई बच्चाकी आमा थिइन् । यासेर उस्मनले लेखेका उक्त किताबका अनुसार, आकाश र मुकेश एक अर्कासँग नजिकिँदै थिए । उनीहरु बच्चालाई लिएर हलिडेमा पनि निस्कने गर्थे । तर, रेखासँग विवाह गर्नका लागि ९ वर्षको पुरानो सम्बन्धलाई त्यागिदिए । उनले निर्णय लिनु पहिला आकाशलाई एक पटक पनि सोधेनन् ।
रेखाको दोस्रो विवाह
रेखाले मुकेशसँग नै दोस्रो पटक पनि विवाह गरिन् । तिरुपति मन्दिरमा गरिएको उक्त विवाहमा रेखाकी आमा पुष्पाञ्जली पनि सरिक भएकी थिइन् । यो भन्दा पनि बढी ठूलो सरप्राइज रेखालाई बाबु जेमिनी गणेशनको आगमनको थियो । यस विवाह पूरै वौदिक रीतिरिवाजमा गरिएको थियो । यो विवाह रेखाको लागि एक नयाँ सुरुवात थियो ।
सम्बन्धमा खटपट
१९९० मा विवाह पछि वल्र्डवाइड फाइनेन्सियल क्राइसिस चलेपछि मुकेशको विजनेशमा ठूलो घाटा भयो । तर, उनले रेखासँग यो कुरा लुकाएर राखे । पछि रेखाले यो कुरा थाहा पाएपछि उनीहरुको वैवाहिक जीवनमा खटपट सुरु भयो । विवाहको दुई महिनापछि रेखाले दिल्ली जान कम गरिन् । लामो समयसम्म रेखाको यस्तो व्यवहार मुकेशले सहन सकेनन् । उनी रेखाले फिल्ममा काम नगरोस् भन्ने चाहन्थे । विवाहको समयमा रेखाले अग्रिमेन्टमा पनि आफू गर्भवती भएपछि फिल्ममा काम गर्न छोड्ने बताएकी थिइन् । तर त्यस्तो केही भएन ।
जब मुकेशलाई रेखाले कुनै हालतमा फिल्ममा काम गर्न छोड्दिनन् भन्ने लाग्यो, उनी बिजनेसमा घाटा भएपनि रेखासँग मुम्बईमा बस्न थाले । उनी कहिले रेखाको फिल्मको सेटमा भेटिन्थे त कहिले रेखासँग कुनै पार्टीमा सँगै देखिन्थे । अन्य मानिसहरुले भन्थे की, ‘रेखाको श्रीमान यही हुन् त ?’ यस्तो कुराहरुले रेखालाई आफ्नो बेइज्जत भएको महशुश हुन थाल्यो ।
विवाहको तीन महिनाको समय रेखाका लागि डरलाग्दो रह्यो । उनले आफ्ना लागि केही समय निकालेर सबै कुरा स्मरण गर्न खोजिन् । जब उनलाई अवस्थालाई आत्मसात गर्न गाह्रो हुन थाल्यो उनी मुकेशको परिवारबाट टाढिन थालिन् । यतिमात्र होइन, उनले मुकेशको फोन उठाउन पनि बन्द गरिदिइन् । डिप्रेसनको शिकार भइरहेका मुकेशका लागि यो एक प्रकारको झट्काजस्तै थियो ।सम्बन्ध बिग्रेकै बेला एक दिन रेखाले मुकेशलाई फोन गरेर भनिन्, ‘जब वैवाहिक जीवनले काम नै गर्दैन म के गरु ? म झुठो जिन्दगी बाँच्ने महिला होइन । यस्तो विवाहको के मतलब जसको भविष्य नै छैन ?’
यो पछि पनि मुकेशले आत्महत्या गर्ने धेरै कोशिश गरे । परिवार र साथीभाइले उनलाई जसोतसो सम्हालेर राखेका थिए । एक दिन रेखासँग लामो समय फोनमा कुरा भएपछि दुवै डिभोर्स दिन राजी भए । डिभोर्सपछि सन् १९९० सेप्टेम्बर २६ मा रेखा स्टेज सोको लागि अमेरिका प्रस्थान गरिन् भने, मुकेशले आफ्नो फार्महाउसको बाथरुममा गएर रेखाको सलमा झुण्डिएर आत्महत्या गरे ।