डिफेन्सको कमजोरीले तीन पेनाल्टी ताजकिस्तानलाई, नेपाल ३–० ले पराजित

एसिया कप २०१९ को छनौटअन्गर्तत नेपालले आफ्नो चौथो खेलमा ताजकिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ ।
मंगलबार ताजकिस्तानको घरेलु मैदानमा भएको खेलमा नेपाल ३–० ले पराजित भएको छ । ताजकिस्तानले उक्त तीन वटै गोल पेनाल्टीमार्फत गरेको हो ।
डिबक्स भित्र अनन्त तामाङको ह्याण्ड हुँदा ताजकिस्तानले १९ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै नुरीडडिन डाभरोनोभले पहिलो गोल गरे । त्यसपछि खेलको ५९ औं मिनेटमा पुन अनन्त तामाङले डिबक्स भित्रनै फउल गर्न पुग्दा पँहेलो कार्ड पाएसँगै ताजकिस्तानलाई दोस्रो पेनाल्टीको अवसर मिल्यो । उक्त पेनाल्टीमा मानुचेर जालिलोवले गोल गर्दै ताजकिस्तानलाई दोस्रो गोल दिलाए ।
त्यससँगै खेलको ८६ औं मिनेटमा आदित्य चौधरीले पनि डिबक्समै फउल गरेका कारण तेस्रो पेनाल्टी पाएको ताजकिस्तानलाई जालिलोवले ३–० को अग्रता दिलाए । खेल अवधिभर नेपाललाई दबाबमा राखेको ताजकिस्तानले पेनाल्टी मार्फतनै नेपालविरुद्ध ३–० को सहज जित निकाल्न सफल भयो ।
चार टोली सहभागी समूह ‘एफ’ मा रहेको नेपाल तीन खेलबाट एक अंकमात्र जोडेर पुछारमा छ । ताजकिस्तानसँगको खेलमा पराजित भएसँगै नेपालको एसिया कप २०१९ खेल्ने सम्भावना पनि समाप्त भएको छ ।
सात अंक जोडेको फिलिपिन्स समूहको शीर्ष स्थानमा छ भने पाँच अंकसहित यमन दोस्रो स्थानमा छ । नेपालले अब फिलिपिन्ससँग काठमाडौं र यमनसँग उसकै मैदान खेल्नेछ ।
football nepal vs tazikistan afc asia cup qualifiers