यसरी हुँदैछ ८० हजार स्वास्थ्यकर्मी बेरोजगार, कारण यस्तो छ
काठमाडौं । सरकारले मन्त्रीस्तरीय निर्णयबाट स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नत्ति मापदण्डसम्बन्धी निर्देशिका २०७० संशोधन गरेको भन्दै नेपाल सीएमए संघ आन्दोलनमा उत्रिएको छ । नेपाल सीएमए संघका केन्द्रीय सदस्य कपिल खनालले संशोधनले देशभर छरिएर दुर्गम क्षेत्रहरुमा स्वास्थ सेवा उपलब्ध गराइरहेका करिब ८० हजार सहायक स्वास्थ्यकर्मी बेरोजगार हुनेमात्र नभई दुर्गम गाउँहरुमा रहेका स्वास्थ्यकर्मी पनि विस्थापित हुने हुनाले आन्दोलनमा उत्रिनु परेको बताए ।
सीएमए संघ चितवनका संयोजक नवीन चापागाईंले यो रोजगारीको मात्र सवाल नभएर सामान्य जनताको आधारभूत स्वास्थ्य सेवा पाउने अधिकारसँग जोडिएको विषय भएको बताए ।
स्वास्थ्य मन्त्रालयका सूचना प्रमुख हरिदास शर्माले सहायक स्वास्थ्यकर्मीले विरामी चेकजाँच गर्दा व्यापक जनगुनासो आएको र धेरै घटना घटेकाले यस्तो निर्णय गर्नुपरेको बताए ।
माओवादी केन्द्रकी नेतृ अन्जना बिशंखेले सरकारले मध्यम बाटो रोज्नुपर्ने र डाक्टर उपलब्ध नहुने ठाउँमा सहायक स्वास्थ्यकर्मी यथावत राख्नुपर्ने बताइन् ।