आँखाको नानी प्रत्यारोपण र संकलन कार्य शुरु
चितवन । मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चितवन जिल्लामा आँखाको नानी संकलन र प्रत्यारोपणको कार्य शुरु गरिएको छ ।
यहाँको भरतपुर आँखा अस्पतालले आँखाको नानी प्रत्यारोपण कार्य शुरु गरिसकेको छ भने संकलन कार्य यसै साताबाट शुरु गर्नका लागि आवश्यक तयारी गरिरहेको छ ।
अस्पताल सञ्चालन गर्दै आएको नेपाल नेत्रज्योति संघ चितवनका कार्यवाहक अध्यक्ष कृष्णराज धरेलका अनुसार तिलगंगा आँखा अस्पताल काठमाडौँमा रहेको नेपाल आँखा बैंकसँग यहाँ संकलित आँखाको नानी राख्नका लागि सम्झौता भइसकेको छ । यहाँ संकलन गरिएका नानीलाई तत्काल काठमाडौँ पठाइनेछ भने प्रत्यारोपण गर्दा त्यहीबाट झिकाइने उनले बताए ।
नानी प्रत्यारोपणका लागि अस्पतालले एक जना चिकित्सकलाई अरबिन्द आँखा अस्पताल तमिलनाडु भारत पठाएर आवश्यक जनशक्ति तयार गरिसकेको छ । अर्का एक प्राविधिक तिलगंगा आँखा अस्पताल काठमाडौँमा आँखाको नानी झिक्नेसम्बन्धी तालीम लिएर आइसकेको धरेलले बताए ।
नानी संकलनपछि अप्टिसोल मेडिया र कर्नीसोल मेडिया नामक रसायनमा राखेर काठमाडौँ पठाइनेछ । यसरी पठाउँदा नानी नबिग्रने धरेलले बताए ।
नानी प्रत्यारोपणसम्बन्धी अध्ययन गरेर आउनुभएकी डा पुष्पा गिरी श्रेष्ठका अनुसार उनी फर्किएपछि हालसम्म अस्पतालमा चार जनाको सफल नानी प्रत्यारोपण भइसकेको छ । आँखाको नानीमा चोटपटक लागेर, दाग देखिएर, फूलो परेर दृष्टि गुमेको अवस्थामा त्यस्ता व्यक्तिलाई आँखाको नानी प्रत्यारोपण गर्न सकिन्छ । रु ११ हजार लागतमा नानी फेर्न सकिने अस्पतालले जनाएको छ ।
कुनै पनि व्यक्तिको मृत्यु भएको छ–सात घण्टाभित्रमा आँखाको नानी निकाल्नसकेमा त्यसलाई उत्तम मानिने बताउँदै श्रेष्ठले १२ घण्टासम्ममा निकाल्न सकिने बताए । एचआइभी–एड्स, हेपाटाइटिसजस्ता सरुवा रोग भएका व्यक्ति बाहेकको नानी संकलन गर्न सकिने उनले बताए ।
eye transplant