मुख्य समाचार

रामेछापमा करेन्ट लागेर २ जनाको मृत्यु १० घाइते

रामेछापमा करेन्ट लागेर २ जनाको मृत्यु १० घाइते


रामेछाप । रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर ६ लखनपुरमा आइतबार करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्। करेन्ट लागेर गम्भीर घाइते भएका कृष्णमाया गौतम र लालबहादुर गौतमलाई हेलिकप्टरबाट राजधानीको ग्राण्डी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए।

मृतक कृष्णमाया र लालबहादुर आमा छोरा हुन्। ७१ वर्षीया कृष्णमाया र करिब ४७ वर्षीय लालबहादुरलाई आइतबार बिहान साढे ७ बजेतिर आफ्नै घरमा करेन्ट लागेको उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराका प्रमुख स्वकीय सचिव युवराज चौँलागाईंले घटना स्थलबाट जानकारी दिए।

दशैँ मनाउन घरमा आफन्तहरु भेला भएको बेला कृष्णमायाले मोबाइल चार्ज गर्न खोज्दा उनलाई करेन्ट लागेको थियो। आमालाई करेन्ट लागेपछि छोरा लालबहादुर उनलाई बचाउन गएका थिए। त्यसपछि उनलाई पनि करेन्ट लागेको थियो। हाइ भोल्टेजका कारण करेन्ट लागेको जनाइएको छ।

 दोरम्बा-६ लखनपुरकै ५८ वर्षीय लालबहादुर बस्नेत पनि करेन्ट लागेर गम्भीर घाइते भएका छन्। उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

करेन्ट लागेका अन्य नौ जनाको गाउँमै उपचार भइरहेको जानकारी चौँलागाईंले दिए। घटनापछि स्थानीयले गृहमन्त्री जनार्दन शर्मालाई फोन गरी उद्दारको पहल गरिदिन आग्रह गरेका थिए। त्यसैअनुरुप मन्त्री शर्माले घटनास्थलमा हेलिकप्टर पठाएका थिए।

विशेष