समाज

दशैंको टिकाकै दिन पैसा र गहना कुम्ल्याएर बेपत्ता महिला अझै फेला परिनन्

दशैंको टिकाकै दिन पैसा र गहना कुम्ल्याएर बेपत्ता महिला अझै फेला परिनन्

कपिलवस्तु । यहाँ १२ दिनदेखि एक महिला बेपत्ता भएकी छिन् ।

अर्घाखाँची फुदवाङ स्थायी घर भई हाल बुद्धभूमि नगरपालिका वडा नं ९ इमिलियामा भाडामा बस्दै आएकी २९ वर्षीया वसन्ता विसी केसी यही असोज १४ गते दशैँको टीकाका दिनदेखि हराएकी छिन् ।

बचत समूहबाट लिएको रु तीन लाख ऋणका विषयमा सामान्य घरायसी विवाद भएपछि दशैँको टीकाको दिन साँझ ७ः०० बजेदेखि श्रीमती घरमा नभएको श्रीमान् लालबहादुर केसीले जानकारी दिए ।

आफू बिरामी भएको मौका छोपी रु तीन लाख नगद रकमसहित आफूले लगाएका सुनका गहनासमेत लिएर गएको श्रीमान् लालबहादुर केसीले गुनासो गरे । उनले भने, ‘यस्तो समान्य विवाद हुँदा घरै छोडेर जाली भन्ने कल्पनासमेत गरेको थिइनँ ।’ डेढ वर्षदेखि इमिलियामा भाडामा बस्दै आएका लालबहादुरले आफ्नै गाडी चलाउने काम गर्छन् । उनको एउटा नौ वर्षीय छोरा छ । पहिले पनि घरमा सामान्य विवाद हुने गरेको उनले बताए ।

आर्थिक कारोबार श्रीमतीले गर्ने गरेको र पैसा माग्दा तपाईलाई किन चाहियो भन्दै झर्किने गरेको लालबहादुरले बताए । सबै ठाउँमा खोजी गरेको तर कतै पत्ता लगाउन नसकिएको भन्दै खोजिदिन पुलिस प्रशासन, मानवअधिकारवादी, पत्रकार सबैलाई उनले आग्रह गरेका छन् ।

घर र माइती दुवै पक्षबाट खोजीदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेमा निवेदन परेको र निजको खोजी कार्य भइरहेको प्रहरी नायब निरीक्षक छमन खत्रीले जानकारी दिए ।

विशेष