प्रवास

अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा पोखरेल

अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा पोखरेल

झापा ।अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा झापा कनकाई नगरपालिका–७ दुर्गापुरका दिनेशकुमार पोखरेल सर्वसम्मत रुपमा चयन भएका छन् ।

उनी १२ वर्षदेखि अष्टे«लियमा बस्दै आएका छन् । समाजको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन् । उनी यसअघि समाजको संस्थापक सदस्य हुन् ।

झापाली समाज अष्ट्रेलिया को संस्थापक अध्यक्ष र हाल संरक्षक समेत रहेका पोखरेलले एनआरएन अष्ट्रेलिया को प्रवक्ता र उपाध्यक्षको जिम्मेवारी समेत यसअघि कुशलतापूर्वक निर्वाह गरेका छन् ।

बिर्तामोडमा बुधबार सम्पन्न अधिवेशनको खुलासत्रमा समाजको नयाँ नेतृत्वको घोषणा भएको हो । मंगलबार राति अबेर सम्पन्न अधिवेशनको बन्दसत्रबाट नेतृत्व चयन भएको थियो । अध्यक्ष घोषणा भए लगत्तै पोखरेलले सञ्चारकर्मीसँगको कुराकानीमा झापाको समृद्धि र विकासका लागि अन्तर्राष्ट्रिय झापाली समाजले दीगो सोचका साथ काम गर्ने बताए ।

उनले भने– ‘अन्तर्राष्ट्रिय झापाली समाज विश्वका विभिन्न मुलुकमा छरिएर रहेका झापालीहरुको साझा छाता संस्था हो । हाल १८ मुलुकमा झापाली समाज बनेको छ । हामी यसलाई विश्वभर बिस्तार गर्नेछौं ।’

समाजको वरिष्ठ उपाध्यक्षमा हङकङ निवासी छत्र सुब्बा चयन भएका छन् । उपाध्यक्षहरुमा मध्यपूर्वका दिपकप्रसाद ओली, युरोपका ललितकुमार न्यौपाने, अष्ट्रेलिया का रुपराज मैनाली, अमेरिकाका प्रमोद सिटौला, कोरियाका राजु सन्तोषी थापा र प्रेम कार्की रहेका छन् । महासचिवमा मध्यपूर्वका रोहितकुमार भण्डारी, सचिवमा भुपाल सिटौला र कोषाध्यक्षमा बालहरि राई चयन भएका छन् ।

सदस्यहरुमा युएईका जगन्नाथ लुइँटेल, युकेकी रोमिया लिम्बू, इजरालयकी सावित्रा लुइँटेल घिमिरे र हङकङका हेमकुमार लावती रहेका छन् ।अधिवेशनमा विभिन्न १८ मुलुकमा बसोबास गर्ने १ सय ५० बढी झापालीको सहभागिता थियो । करिब आठ महिना अगाडि बिर्तामोड घर भई अष्ट्रेलिया निवासी भवानी ओलीको संयोजकत्वमा अन्तर्राष्ट्रिय झापाली समाजको तदर्थ समिति गठन भएको थियो ।

संयोजक ओलीको अध्यक्षतामा बुधबार भएको अधिवेशनको खुलासत्र प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सिपी मैनालीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै उनले विश्वभरका झापालीहरु अन्तर्राष्ट्रिय झापाली समाजमा संगठित हुनु झापाको विकासका लागि आसलाग्दो विषय भएको बताए ।
‘समृद्ध झापाका लागि अन्तर्राष्ट्रिय झापाली समाज’ नाराका साथ सम्पन्न अधिवेशनमा सांसदहरु अमृतलाल राजवंशी, मनकुमार गौतम, बिर्तामोडका मेयर धु्रवकुमार शिवाकोटी, कनकाईका मेयर राजेन्द्र पोखरेल, भद्रपुरका मेयर जीवन श्रेष्ठ, कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले लगायतले शुभकामना व्यक्त गरेका थिए ।

अन्तर्राष्ट्रिय झापाली समाजको औचित्य माथि केपी सिटौलाले प्रकाश पारेको कार्यक्रममा स्वागत समाजका प्रवक्ता छत्र सुब्बाले गरेका थिए भने सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।कार्यक्रममा सहभागी सबैलाई ढाकाको खादा पहिर्याई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रममा कलाकार देव चौधरी लगायतले सांगीतिक प्रस्तुति गरेका थिए ।

तदर्थ समितिका संयोजक ओलीले समाजलाई हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । संयोजक ओलीको अगुवाईमा गत साउनमा आएको बाढीबाट पीडित बनेका झापाका ७ सय बढी परिवारलाई १२ लाख रुपैयाँ बराबरको खाद्य सामग्री राहत स्वरुप प्रदान गरिएको थियो । समाजले पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषलाई पनि महत्वपूर्ण सहयोग गर्ने घोषणा गरेको छ ।

 

विशेष