मुख्य समाचार

प्रहरीको मोष्ट वान्टेडको सुचीमा रहेका बालकृष्ण ढुंगेल उम्मेदवार छान्दै

प्रहरीको मोष्ट वान्टेडको सुचीमा रहेका बालकृष्ण ढुंगेल उम्मेदवार छान्दै

काठमाडौं । काठमाडौं– सर्वोच्च अदालतले तीन पटक दोषी ठहर गरेका तथा सात दिनभित्र पक्राउ गर्न बारेन्ट जारी भएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल प्रतिनिधिसभा र प्रदेशसभाका लागि टिकट वितरणमा सक्रिय देखिएका छन्।

व्यक्ति हत्यामा दोषी ठहर भएका र प्रहरीले मस्ट वान्टेड सूचीमा राखेर ६ महिनादेखि खोजी भइरहेका ढुंगेल मंगलबार काठमाडौंको बानेश्वरमा चुनावी राण्नीति तय गर्न बसेको बैठकमा उपस्थित थिए।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकै आएपछि एमाले सांसद यज्ञराज सुनुवार, एमाले जिल्ला नेता नानीबाबु बुढाथोकी र माओवादी केन्द्रका नेताहरु बाबुराम गौतम र मोहन खड्कासँगै ढुंगेल पनि बानेश्वरमा ओखलढुंगाका एक व्यक्तिको घरमा उपस्थित थिए।

ढुंगेलसँगको भेटबारे सांसद सुनुवारले दुई वाम पार्टी एक ठाउँ बसेर छलफल गरेको प्रतिक्रिया दिए। पार्टी एकीकरण घोषणा भेलामा गएको र पार्टीका शीर्ष नेतासँग बसेको व्यक्ति जिल्लाको टिकट वितरणमा हुनु स्वभाविक भएको सांसद सुनुवारको प्रतिक्रिया थियो।

वाम एकतापछि ओखलढुंगा प्रतिनिधिसभाको दुई क्षेत्रमध्ये एक क्षेत्रमा एमाले र अर्कोमा माओवादीले पाउने निश्चित भएपछि ढुंगेल उम्मेदवारी मिलाउन छलफलमा आएका थिए। ओखलढुंगाको क्षेत्र नम्बर १ मा एमालेका सुनुवारले टिकट पाउँदैछन् भने २ मा माओवादीले उम्मेदवार तय गरिसकेको छैन।

प्रदेशसभाका लागि चार वटा क्षेत्र भएकाले सहमति गरी उम्मेदवार तय गर्नका लागि प्रारम्भिक छलफल गर्न फरार अभियुक्त ढुंगेलसहित बैठक बसेको हो। सर्वोच्चको फैसलाका कारण आफू उठ्न नपाउने भएपछि उनले आफू निकट व्यक्तिलाई दुई नम्बर निर्वाचन क्षेत्रमा टिकट दिन दबाब दिएको बुझिएको छ। जिल्लामा आफू चर्चित रहेको दाबी गर्दै उनले प्रदेशसभामा दुई सिटको दाबी गरे।

एमाले र माओवादी केन्द्र निर्वाचन मात्र नभई पार्टी नै एकीकरण हुने दिशामा गएकाले एक भएर निर्वाचनमा जाने र एकअर्काको उम्मेदवारलाई सहयोग गर्ने सहमति उक्त भेटमा भएको सहभागी एक नेताले बताए।

एमालेका नेता बुढाथोकी प्रदेशसभाका उम्मेदवार हुन्। यसअघि दोस्रो संविधानसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडासँग पराजित भएका थिए।

वैशाख १ गते सर्वोच्चले ढुंगेललाई सातदिन भित्र पक्राउ गर्न वारेन्ट नोटिस जारी गरेको थियो। तर, त्यसपछि प्रहरीले उनी नेपालमै नरहेको दाबी गर्दै सर्वोच्चमा प्रत्येक महिना अनुसन्धान प्रतिवेदन बुझाउने गरेको छ। ढुंगेल भने केन्द्रीय नेता र सांसदहरुसँग घुमेर बसेका छन्। कहिले नेपाली कांग्रेसका नेतासँग सम्मान लिन पुग्छन् त कहिले एमाले नेताहरुसँग चुनावी राणनीति निर्माण गरिरहेको भेटिन्छन् ।

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले हत्याको अभियोगमा दोषी ठहर भएका ढुंगेलले सार्वजनिक अभिनन्दन लिँदै हिँडेको र अदालतको फैसलालाई चुनौती दिएको भन्दै उनलाई एक साताभित्र पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो।

‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, पीडित तथा समाजका निम्ति खतरा बनिरहेका ढुंगेललाई सात दिनभित्र पक्राउ गरी जानकारी गराउनु,’ प्रहरी महानिरीक्षकका नाममा जारी भएको आदेशमा भनिएको थियो।

सर्वोच्चले मिति तोकेरै ढुंगेललाई पक्राउ गर्न आदेश दिएकाले कार्यान्वयन हुन सकेको छैन। ‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, पीडित तथा समाजका निम्ति खतरा बनिरहेका ढुंगेललाई तत्काल पक्राउ गर्नुपर्ने देखिन्छ,’ सर्वोच्चको आदेशमा भनिएको छ, ’निजलाई पक्राउ गर्नका लागि वारेन्ट आदेश जारी गरिएको छ।’

तर, ढुंगेल उक्त आदेशलाई चुनौती दिँदै जिल्लाको टिकट वितरणमा सार्वजनिक रुपमा देखिएका छन्।

पछिल्लोपटक फागुन ३० गते ढुंगेललाई गृहजिल्ला ओखलढुंगामा क्रियाशील माओवादी सम्बद्ध दलले नागरिक अभिनन्दन गरेका थिए। नयाँ शक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादीले संयुक्त रुपमा ढुंगेललाई अभिनन्दन गरेका थिए।

२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो। सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। तर,ण् पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो।

विशेष