मनोरञ्जन

दिया मास्के ‘चराहरुको सम्मेलन’कि निर्देशक

दिया मास्के ‘चराहरुको सम्मेलन’कि निर्देशक

काठमाडौं ।   अभिनयमा आफूलाई अब्बल साबित गरेकी अभिनेत्री दिया मास्केले निर्देशनमा पाइला चालेकी छिन्। 

नाटक ‘चराहरुको सम्मेलन’बाट उनी निर्देशकका रुपमा देखिएकी हुन् । १० वर्षदेखि रंगमञ्चमा सक्रिय उनले आफ्नो अनुभव र शिल्पलाई नाटकमा उपयोग गर्ने कोसिस गरेको बताएकी छिन्। 

असोज २० गतेदेखि बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा सो नाटक मञ्चन भइरहेको छ।  पर्सियाका सुफी कवि फरीद उद्–दीन अत्तारको ‘मन्तिक उत् तयर’ नामक आख्यानमा आधारित नाटकलाई पुष्पराज आचार्यले नेपालीमा अनुवाद गरेका हुन्। 

चराहरुले आफ्नो संसारमा कुशासन, अव्यवस्था र बेथिति भएकाले त्यसलाई व्यवस्थित गर्न एउटा राजा चाहिएको महसुस गर्छन् । यसका लागि काफ नामक प्रदेशमा सिमोर्घ भन्ने राजालाई भेट्न जानुपर्ने हुन्छ । चराहरु जान तयार हुँदैनन्, यसका लागि विभिन्न कथा हालेर फाप्रे चराले उत्प्रेरित गर्छ। 

त्यसपछि उनीहरुले खोजी, प्रेम, बुझाइ, विस्मय, विनाश, एकता र मृत्यु गरी सातवटा उपत्यका पार गर्दै अन्ततः सिमोर्घ राज भेट्छन् । तर, त्यो राजा सिमोर्घ अरु कोही नभएर उनीहरु आफैं हुन्छन्। 

नाटकमा सुरज मल्ल, आयुष प्याकुरेल, अर्जुन न्यौपाने, रोशनी स्याङ्बो,  गौरव विष्ट, मनीष निरौला, सेरफ लामा, मनोज थापामगर, कमल देवकोटा, सुमन श्रेष्ठ, अञ्जना लिम्बू, विपनता थापवामगर, साधाना भण्डारी, सुजाता गुरुङ, सरोज श्रेष्ठ, केशव सिंह ठगुना, गणेश बस्याल, सूर्यमान लिम्बू, शिक्षा केसी, निससा राई, सहयोगराज अधिकारी, राकेशकुमार राई र इसिका लिम्बूले अभिनय गरेका छन्। 

शिल्पीमा मंगलबार बाहेक हरेक साँझ ५:१५ बजे मञ्चन भइरहेको नाटक कात्तिक १ गतेसम्म चल्नेछ ।

विशेष