मुख्य समाचार

यसरी सकियाे संसदकाे कार्यकाल

यसरी सकियाे संसदकाे कार्यकाल

काठमाडौ  । व्यवस्थापिका संसदको कार्यकाल शनिबार  राती १२ बजेबाट सकिएकाे। संसद भवन नयाँ बानेश्वरमा बसेको वैठकमा सवै पार्टीका शीर्ष नेताहरुले संवोधन गरेपछि संसद वैठक सकिएको हो ।

 २०७२ असोज ३ गते जारी संविधान अनुसार प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवारी दर्ताको अघिल्लो दिन सम्म संसदको कार्यकाल रहने उल्लेख थियो । सोही अनुसार आज राती वाह्र बजेपछि वर्तमान संसद भंग हुने छ । भोली प्रतिनिधि र प्रदेश सभा निर्वाचनकालागि समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्ने समय सिमा रहेको छ ।

 संसदमा रहेका दलहरुका शीर्ष नेताहरु, सभामुख, सांसद र संसद भवनमा पुगेकाहरुले पहिला सामूहिक तस्विर खिचाएका थिए । त्यसपछि सुरु भएको संसदमा सवै दलका शीर्ष नेताहरुले पालैपालो संवोधन गरेका थिए ।

 अधिकांश नेताहरुले संविधान कार्यान्व्यनकालागि संसद भंग हुन लागेकोमा खुसी व्यक्त गरेका थिए । तर शीर्ष तीन दलका नेताहरुको एक अर्काप्रतिको आरोप प्रत्यारोप भने निकै रहेको थियो ।

शीर्ष मध्य संसदको तेस्रो दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति संझौता देखि यहाँ सम्म आइपुग्दा पार्टीमा धेरै उतार चढाव आएपनि राष्ट्र र जनताले जित हासिल गरेको उल्लेख गर्नुभयो । यसैगरी हालै एमालेसँग भएको वाम गठबन्धनको बचाउमा धेरै समय खर्च गर्नुभयो ।

त्यस्तै दोस्रो ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले संविधान कार्यान्वयनमा ध्यान नदिएको आचार संहिताको खिल्ली उडाएको टिप्पणी गर्नुभएको थियो । उहाँले आजै रातीबाट भंग हुने संसदमा बहुमत सिद्ध गर्न नपर्ने भएपनि किन यति ठूलो संख्यामा मन्त्री बनाएको भन्दै प्रश्न गर्नुभयो ।

जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्व्यनमा आफू कसैसँग संझौता नगर्ने प्रष्ट पार्दै आफू सधै संविधानको पालनामा प्रतिबद्ध भएको पनि उल्लेख गर्नुभयो ।

यसैगरी अन्तिम मन्त्व्य दिनुभएकी सभामुख ओनसरी घर्तिले संविधान कार्यान्वयनमा रहेका दलहरुलाई सफलताको शुभ कामना दिँदै आफूले पदमा रहँदा गरेका कामको फेहरिस्त सार्वजनिक गर्नुभयो । वर्तमान संसद २०७० सालको संविधान सभाको निर्वाचनबाट गठन भएको संविधान सभाको रुपान्तरित रुप हो । यो २०७२ असोज ३ गते संविधान जारी भएपछि स्वतः संसदमा रुपान्तरित भएको थियो । ६ सय १ जनाको संसद रहेपनि आज अन्तिम दिन सम्म ५ सय ९२ सांसद रहेका छन् ।

विशेष