समाज

धन्तेरसमा भाग्य प्रवल बनाउन घरका लागि किन्नु होस् यी सामान

धन्तेरसमा भाग्य प्रवल बनाउन घरका लागि किन्नु होस् यी सामान

काठमाडौं । तिहार हाम्रो घरआँगनमा आइसकेको छ । यमपञ्चकको हरेक दिन धार्मिक हिसावले अत्यन्त महत्वपूर्ण छन् । त्यसमध्ये धन्तेरसको दिन घरमा सामान किन्नका लागि मुख्य साइत मानिन्छ । धन्तेरस अर्थात धन त्रयोदशी जसलाई हामी कागतिहार पनि भन्ने गर्छौं । यस दिन देवताहरुका वैद्य धन्वन्तरीको जन्मदिन हो भनेर वैदिक शास्त्रमा उल्लेख गरेको पाइन्छ । कात्तिक कृष्णपक्षको त्रयोदशी तिथीमा पर्ने धन्तेरस भारत वर्षभरी भान्सामा आवश्यक पर्ने समान खरीद गर्ने दिनको रुपमा पनि विशेष दिन हो । यस दिन यमराजको पूजा पनि गरिन्छ । वर्षमा यही एक दिन यमराजको पूजा पनि हुन्छ ।

यस दिन राजा हेमका पुत्रको जीवनरक्षा उसकी श्रीमतीले घरमा आवश्यक पर्ने सामानको प्रयोग गरेर नै बचाएकी थिइन भनेर देवी भागवतमा उल्लेख छ । यसकारण काग तिहारको दिन घरका सामान किन्दा यमराज खुशी हुने हुनाले घरमा कृपादृष्टि परिरहन्छ भन्ने विश्वास गर्ने गरिन्छ । विहान घरआँगन सरसफाई गरेर शुद्ध भएपछि मात्र सामान खरीद गर्नुपर्छ । अव कुन कुन समान किन्दा तपाईंको भाग्य प्रवल हुन्छ त्यो जानी राखौं :

१. गणेश लक्ष्मीको मूर्ती वा फोटो : तिहारमा मात्र होइन हरेक चाडबाड र पूजाहरुमा गणेश र लक्ष्मीको पूजा हुन्छ । तर गणेश लक्ष्मीको पूजाका लागि मूर्ती वा फोटो किन्न खोजिरहनु भएको छ भने धन्तेरसको दिन सवभन्दा उत्तम हुन्छ ।

२. धातुका सामान : जस्तै सुन चाँदी वा पितल खरीद गर्ने हो भने यस दिन किनेका गरगहनाहरु चोरले पनि चोर्न सक्दैन भन्ने मान्यता रहिआएको छ । लक्ष्मी मातालाई धातुको सामान प्रिय लाग्छन् । धन्तेरसको दिन किनेको गहना वा धातुलाई लक्ष्मी पूजा गर्दा सँगै पूजा गर्नु पर्छ ।

३.कुचो वा झाडु : कुचोमा यस्तो शक्ति हुन्छ जसले तपाईंको घरभित्रका नकारात्मक शक्तिलाई बढारेर सकारात्मक उर्जा भित्राइदिन्छ । लक्ष्मी माताको प्रिय अम्रिसाको कुचोलाई यस दिन किनेर लक्ष्मी पूजाको दिन पुजास्थलमा राख्नु पर्छ ।

४. कौडा : कौडालाई घरमा राख्दा घरमा कहीले पनि धन अभाव नहुने शास्त्रीय विश्वास छ । महाभारत कालदेखि नै कौडालाई भगवानहरुले खेल्ने गर्थे । सकुनीको पासामा उसको कौडाले कहिले पनि हार्दैन थियो । यस दिन कौडा खरीद गरी लक्ष्मी पूजाको दिन रातो तुलको कपडामा बाँधेर ढुकुटीमा राख्नाले लक्ष्मी माता प्रसन्न हुन्छिन् ।

५. शंख : शंख शान्ति र समृधिको प्रतिक हो । यसलाई धन्तेरसको दिन खरीद गर्दा यमराजको कृपादृष्टि रहन्छ । यस दिन किनेको शंख लक्ष्मीको पुजा गरेर शंखनाद गर्दा शुभ हुन्छ भन्ने धार्मिक विश्वास छ ।

६. नुन : धन्तेरसको दिन किनिने अर्को महत्वपुर्ण सामानमध्ये नुन पनि एक हो । यस दिन नुन किनेर लक्ष्मी पूजाको दिन पुजेपछि त्यही नुनलाई खानामा हाल्ने, पोछा लाउने पानीमा घोल्ने गर्दा वर्षभरी दरिद्रता घरमा आउन पाउँदैन ।

७. धनियाँ : लक्ष्मी पूजाको दिन धनियाँको पनि पूजा गर्नु पर्छ भनेर लक्ष्मी वैभवमा लेखेको छ, यसको पुजनले धनधान्यकी देवी लक्ष्मी माता प्रसन्न रहन्छिन । भोलि सिंगै धनियाँ किनेर लक्ष्मी पूजाको दिन पुजास्थलमा राखी यसको पनि पूजा गर्नुपर्छ । पूजा गरिसकेको धनियाँलाई करेसाबारीमा छरीदिनाले कुवेर खुशी हुन्छन् भन्ने विश्वास गरिन्छ ।

८. कुवरेको मूर्ती : राजा कुवेर वैभवशाली राजा थिए । उनको भण्डारमा कहिले पनि धनको अभाव हुँदैन थियो । भगवानहरुका अन्नदाता र द्रब्यदाता पनि कुवेर नै थिए । त्यसकारण धन्तेरसको दिन कुवेरको मूर्ती खरीद गर्नाले कुवेरको दृष्टि हमेसा परिरहन्छ ।

संकलक : मन्जु मिश्र

विशेष