खेल

गज्जबका श्रीमान श्रीमती, बनाए यस्तो कीर्तिमान

गज्जबका श्रीमान श्रीमती, बनाए यस्तो कीर्तिमान


न्युयोर्क । इजिप्टका खेलाडीले विश्व खेलकुदमा गजबको कीर्तिमान बनाएका छन् ।

अमेरिकामा जारी यूएस ओपन स्क्वास च्याम्पियनसिपमा पुरुष एकल स्पर्धाको उपाधि पति र महिला एकल स्पर्धाको उपाधि पत्नीले जितेर उनीहरूले इतिहास रचेका हुन् । प्रतियोगिताको आइतबार भएको महिला एकलतर्फको फाइनलमा पत्नी नुर अल तैयबले अल वेलिलीलाई हराउँदै उपाधि जितिन् । २४ वर्षीया अल तैयबले खेलको नतिजालाई ३(२ ले आफ्नो पक्षमा पारेकी थिइन् ।

त्यसको केही समयपछि भएको पुरुष एकलतर्फको फाइनलमा पति अली फरागले मोहमेद अल सोरबागीलाई हराउँदै उपाधि हात पारे । २५ वर्षीय अली फरागले ३(० को सहज सेटमा खेल जितेका थिए । पति र पत्नी दुबैले फाइनलमा हराएका प्रतिद्वन्द्वी पनि इजिप्टकै हुन् । अली फराग र अल तैयबले पीएसए वल्र्ड सिरिजको उपाधि जितेको यो पहिलो पटक हो ।

विश्व खेलकुदको इतिहासमा एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा एकै दिन दुवै एकल स्पर्धाको उपाधि पति र पत्नीले जितेको यो पहिलो पटक भएको समाचारमा जनाइएको छ । अली फराग र अल तैयब गत वर्षमात्र वैवाहिक बन्धनमा बाँधिएका थिए ।

‘आफ्नो स्पर्धाको उपाधि जितेपछि मेरो सम्पूर्ण ध्यान श्रीमान्को खेलमा केन्द्रित भयो । आफूले उपाधि जितेको खुसी मनाउनुभन्दा पनि श्रीमान्को खेलको विषयलाई लिएर म बढी चिन्तित बनेकी थिएँ’, खेलपछि अल तैयबले भनिन् । अली फरागले भने आफ्नो सपना साकार भएको प्रतिक्रिया दिए ।

विशेष