मुख्य समाचार

यसरी ल्याइयो अपहरण र हत्याका आरोपी दुबइबाट

यसरी ल्याइयो अपहरण र हत्याका आरोपी दुबइबाट

काठमाडौं । नेपाल प्रहरीको ईन्टरपोल शाखाले दुबईबाट अपहरण र हत्या अभियोगका दोषी प्रकाश लामिछानेलाई पक्रेर नेपाल ल्याएको छ । गत फागुन ५ गते न्युरोड मखन गल्लीका साडी तथा कुर्ता सुरुवालका व्यापारी श्यासुन्दर अग्रवालको अपहरण गरेको मुख्य अभियोग लामिछानेमाथि छ ।

उनले नक्कली प्रेमको नाटक गरेर राधिका श्रेष्ठ प्रेमिका बनाएर उनैको प्रयोग गरेर व्यापारी अग्रवालको अपहरण गरेका थिए । अपहरणपछि पोल खुल्ने डरले उनले राधिकाको भक्तपुरमा पुर्‌याई हत्या गरेका थिए । हत्यापछि प्रकाश भारत हुँदै दुबई पुगेका थिए ।

फरार लामिछाने दुबई पुगेको पत्तो पाएपछि प्रहरील ईन्टरपोलमार्फत उनको खोजी जारी राखेको थियो । २६ गते दुबईमा पक्राउ परेका लामिछानेलाई आईतबार ६स्२० को फ्लाई दुबई मार्फत नेपाल ल्याइएको हो ।

अग्रवालको पसलमा काम गर्ने राधिकालाई साहुको अपहरण गर्न सके मनग्गे पैसा कमाइने प्रलोभन दिएर प्रकाशले प्रेमिकालाई उकासेका थिए । प्रकाशको योजनाअनुसार राधिकाले श्यामसुन्दरलाई फकाई सुन्धाराको एक लजमा पुर्‌याएर बन्दक बनाएकी थिइन् । व्यापारी अग्रवालबाट १० लाख ७० हजार रुपैयाँ हात परेपछि उनीहरुले अग्रवाललाई अपहरण मुक्त गरेका थिए ।

रकम हात परेपश्चात प्रकाश र राधिका भक्तपुरतिर लागेका थिए । अपहरणमा प्रकाशका साथी सरोज घोरासैनी र किशोर गिरी पनि संग्लन रहेको महाशाखाको अनुसन्धानपछि खुलेको थियो । रकम बाँडफाँड गरेर भक्तपुर वागेश्वरीस्थित प्रकाशको घर पुगेपछि उनीहरुले अपहरणको पोल खुल्ने डरले राधिकाको हत्या गरी घरनजिकै लगेर गाडेका थिए ।

घटनालगत्तै प्रकाश विमानमार्फत, सहयोगी गिरी स्थलमार्ग हुँदै दिल्ली पुगे । दिल्लीमा केही दिन बसेर नेपाल फर्किएका गिरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परे भने घोरासैनी असनबाट । दिल्लीबाट दुबई पुगेको लामिछानेमाथि प्रहरीले विस्तृत बयान थाल्ने तयारी थालेको छ । प्रहरी स्रोतका अनुसार लामिछानेमाथि अपहरण तथा शरीर बन्धक ऐन अन्तर्गत मुद्धा चलाइनेछ । 

कान्तिपुर 

 

विशेष