प्रवास

राष्ट्रसंघ मानवअधिकार परिषद् सदस्य निर्वाचन आज, नेपालले जित्ने आशा

राष्ट्रसंघ मानवअधिकार परिषद् सदस्य निर्वाचन आज, नेपालले जित्ने आशा

काठमाडौं । संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यका लागि अमेरिकाको न्युयोर्कमा सोमबार साँझ हुने निर्वाचनमा नेपाल पनि उम्मेदवार छ ।राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यका लागि सोमबार साँझ नेपाली समयअनुसार ७स्४५ मा निर्वाचन सुरु हुनेछ । निर्वाचन प्रक्रिया एक घन्टामा पूरा हुनेछ ।

एसियन ग्रुपबाट नेपाल, अफगानिस्तान, पाकिस्तान, कतार र मलेसिया गरी पाँच देश प्रतिस्पर्धामा छन् । यीमध्ये चार मुलुक परिषद् सदस्यमा निर्वाचित हुनेछन् ।

परराष्ट्र मन्त्रालयका अधिकारी यसपटक नेपाल मानवअधिकार परिषद् सदस्यमा नेपाल निर्वाचित हुनेमा आशावादी देखिएका छन् । परराष्ट्रसचिव शंकरदास बैरागीले परिषद् सदस्यमा विजय सुनिश्चित गर्न न्युयोर्क र जेनेभास्थित राष्ट्रसंघ हेर्ने नेपाली नियोगमार्फत राष्ट्रसंघ सदस्य मुलुकसँग लबिङ तीव्र पारिएको बताए ।

‘आज हुने मानवअधिकार परिषद् सदस्य निर्वाचन हाम्रा लागि अत्यन्त महत्वपूर्ण छ । मूलतस् नेपालको मानवअधिकारप्रतिको प्रतिबद्धता अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा राख्न र अन्य मुलुकले नेपालको मानवअधिकारबारे प्रश्न उठाए जवाफ दिन यो प्लेटफर्म निकै महत्वपूर्ण हुनेछ’, उनले भने।
साउदी, युएई, इजिप्ट र बहराइनले कतारलाई परिषद् निर्वाचनमा पराजित गर्ने रणनीति अख्यितार गरेको बताइन्छ ।

‘यसोभए कतारलाई जाने भोट नेपालको पोल्टामा आउन सक्ने हाम्रो विश्वास हो । हामीले केही समययता हाम्रो जित सुनिश्चितताका लागि विभिन्न मुलुकसँग कूटनीतिक लबिङ तीव्र पारेका छौं’, परराष्ट्र अधिकारीले भने ।

परिषद् निर्वाचनमा एसियन ग्रुपबाट नेपालबाहेक अन्य सबै मुस्लिम मुलुक छन् । विश्वका मुलुकले मुस्लिमबाहेक एसियन ग्रुपबाट नेपाललाई समर्थन गर्ने विश्वास गरिएको छ ।संयुक्त राष्ट्रसंघको न्युयोर्कमा जारी ७२ औं महासभाका क्रममा मानवअधिकार परिषद् सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
परराष्ट्र मन्त्रालयले मावअधिकार परिषद् सदस्यका लागि दुई वर्षअघि उम्मेदवारी दिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रसंघको ७२ औँ महासभामा न्युयोर्कमा सम्बोधन गर्दै नेपाललाई मानवअधिकार परिषद् सदस्यमा समर्थन गर्न विश्व समुदायलाई आह्वान गरेका थिए । नेपालले सन् १९९३ र २००३ मा दुईपटक राष्ट्रसंघ मानवअधिकार आयोगको सदस्य पदमा जितेको थियो । तर, आयोग सन् २००७ मा परिषद्मा रूपान्तरित भएयता नेपाल यस वर्ष पहिलोपटक निर्वाचनमा सहभागी भएको हो ।

परिषद् सदस्यता महत्वपूर्ण : गौतम

संयुक्त राष्ट्रसंघका लागि पूर्वसहायक महासचिव कुलचन्द्र गौतमले मानवअधिकार परिषद् सदस्यमा निर्वाचित हुन सक्नु नेपालका लागि महत्वपूर्ण हुने बताए । मानवअधिकार परिषद् सदस्यमा नेपालको निर्वाचन दुई हिसाबले महत्वपूर्ण हुने उनले बताए ।

‘पहिलो, नेपालले मानवअधिकारप्रतिको प्रतिबद्धता अन्तर्राष्ट्रिय मञ्चमा स्पष्टसँग पेस गर्न अवसर पाउनेछ । दोस्रो, विश्वका मानवअधिकारका घटनामा आफ्नो धारणा राख्न पाउँछ’, उनले भने ।

अन्नपूर्ण 

विशेष