मनोरञ्जन

राप्रपा प्रजातान्त्रिकका सहमहामन्त्री रेखा थापालाई बम्परै बम्पर

टिभी रिलिजमा पनि छुट

राप्रपा प्रजातान्त्रिकका सहमहामन्त्री रेखा थापालाई बम्परै बम्पर

काठमाडौं । हलवालाहरूको संस्था नेपाल चलचित्र संघले टेलिभिजन च्यानलमा र नेपालका सिनेमा हलमा एकैदिन रिलिज गरिने चलचित्रलाई आफूहरूले सिनेमा हलमा रिलिज नगर्ने निर्णय एक साताअघि गरेको थियो । सो निर्णयले अभिनेत्री रेखा थापाको चलचित्र ‘रुद्रप्रिया’लाई प्रत्यक्ष असर पर्ने भएको थियो । तर रेखा थापाको यस चलचित्रलाई सशुल्क टेलिभिजन च्यानलबाट हलसँगै रिलिज गर्न नेपाल चलचित्र संघले छुट दिएको छ ।

डिजिटल स्याटलाइट च्यानल वितरण संस्था डिस होमको सशुल्क च्यानल र सिनेमा हलमा एकैदिन नेपाली चलचित्र रिलिज गरेका कारण हलमा यस्ता नेपाली चलचित्र चल्न छाडेको भन्दै संघले यस्तो निर्णय गरेको थियो ।

रेखा थापाले डीसी होमबाट पनि आफ्नो फिल्म रिलिज गर्न ५० लाखमा बिक्री गरेको भन्दै संघको सो निर्णय नमान्ने अडान लिएपछि अन्ततः नेपाल चलचित्र संघले उनलाई छुट दिएको हो ।

यसै विषयमा नेपाल चलचित्र संघका कोषाध्यक्ष गोपालकाजी कायस्थले रेखाले पहिला नै डिस होमलाई बिक्री गरिसकेकाले उनलाई छुट दिएको बताए । तिहरपछि रिलिज हुने बाँकी नेपाली चलचित्र भने सिनेमा हलमा रिलिज भएको कम्तीमा दुई सातापछि मात्र डिस होमलगायतका टिभी च्यानलमा रिलिज हुन पाउने निर्णय संघले गरेको पनि उनले बताए ।

रेखाले आफ्नो चलचित्र रुद्रप्रियाको सोमबार राजधानीमा प्रिमियर सो गरिन् । यो चलचित्र २ कात्तिकबाट देशव्यापी प्रदर्शनी हुँदै छ । जसमा रेखा थापासहित आर्यन सिग्देल, राजन इसानलगायतको अभिनय रहेको छ ।

राजधानी दैनिक

विशेष