विचार

आफ्नै कर्म र वचनले घेरिए बाबुराम

आफ्नै कर्म र वचनले घेरिए बाबुराम

काठमाडौं । एक समूहले तीन (?) वर्ष अघि जनवरी १ मा ढाका टोपी दिवस मनायो । त्यही बेला ढाका मात्रै किन ? भन्ने प्रश्न उत्पन्न भयो । गएको जनवरी एकमा ढाकालाई संशोधन गरेर स्वतस्फूर्तरुपमा नेपाली टोपी दिवस मनाइयो । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले फेसबुकमा लेखिहाले, ‘आज टोपी दिवस, भोलि धोती दिवस के यसो गर्न जरुरी छ ?’

संविधान जारी हुने बेलामा बहुसंख्यक जनताको सुझाव थियो कि नेपाल हिन्दूराष्ट्र रहोस । त्यो नभए धर्मनिरपेक्ष भन्ने नरहोस् । जनताको अभिमत नै यहि थियो । एक अन्तर्वार्ताका क्रममा बाबुरामले भनेका थिए, ‘जनताले भन्दैमा हुँदैन । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउनु पर्छ ।’ नभन्दै जनचाहनाविपरीत नेपाल धर्मनिरपेक्ष राष्ट्र बन्यो ।

बाबुरामका आलोचकहरुले उनीको दिक्षा नै क्रिष्चियनबाट भएको र स्कुले जीवनबाटै उनमा हिन्दूत्वविरोधी र मौलिक संस्कृति नाश गर्ने विदेशी अभियानमा सामेल भएको दावी गर्थे । उनको धर्मविरोधी तथा जनताको अभिमतविरोधी कर्मले उनको आलोचकहरुले गरेको दावी ठिक रहेछ भन्ने देखियो ।

ढुलमुले चरित्रका प्रचण्डलाई आफ्नो प्रवृत्ति देखाउन कम्तिमा तीन महिना लाग्छ । तर बाबुरामले यसपटक एकसाताको अवधिमा बामगठबन्धन–आफ्नै धार– नेपाली कांग्रेससँगको निकटता देखाएर आफ्नो अस्थिरता प्रकट गरेका छन् ।

कुनै बेला बाबुराम भट्टराईको क्रेज यति धेरै उचाइमा थियो कि आज आएर ती दिन सम्झिदा पत्याउनै गाह्रो पर्छ । आफलै तेस्रो लिंगी भनेको नेकपा एमालेसँग हात मिलाएर फेरि टुटाउनु पर्यो यसपटक भट्टराईले । बाबुरामको अलोकप्रियता र अधोगतिको सुरुवात उनी प्रधानमन्त्री भएको बेलामै संविधानसभा विघटनपछि भयो ।

उनी र उनको पार्टीको कट्टरता त्यो बेला हावी नभएको भए पहिलो संविधानसभाले नै संविधान जारी गथ्र्यो । किनभने माओवादीले त्यसबेला प्रत्यक्ष निर्वाचित कार्यकारी, १४ वटा जातीय प्रदेश जस्ता विषय छाडेको थिएन ।

बाबुरामले आफ्नो प्रधानमन्त्रीत्वकालमा केही सुधारका काम सुरु गरे । त्यो राम्रो थियो । उनी भ्रष्टाचारमा र अनियमिततामा निष्कलंक पनि रहे । तर जनताले उनकी पत्नी हिसिलामा ‘भ्रष्टाचारमैत्री चरित्र’ देखे । जसलाई बाबुरामले मौन स्वीकृति दिएको अर्थमा धेरैले बुझे ।

संविधानसभामा संवैधानिक समितिका सभापति भएर अहिलेको संविधानको प्रत्येक धारा र उपाधारा लेख्ने उनै हुन् । हरेक विषयको छलफलमा भट्टराईको भूमिका छ । हालको संविधान कसैलाई पनि चित्त नबुझेको संविधान हो । किनभने यो संविधानमा प्रत्येक दललाई मन नपरेका व्यवस्थाहरु छन् । अरुको अस्तित्व स्वीकार गर्नुपर्छ भन्ने मान्यताले संघीयता कांग्रेस एमालेले स्वीकार गरे । यो माग मधेसबाट आएको थियो । माओवादीका कारण कांग्रेस धर्मनिरपेक्षता मान्न विवस भएको थियो । कांग्रेसको अस्तित्व स्वीकार गर्दा संसदले छान्ने प्रधानमन्त्रीय प्रणालीमा माओवादी र एमाले गएका थिए । यो संविधान यदि कसैको माग सुनवाई भएको छैन भने त्यो एमाले हो । किनभने एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पदका लागि आफना सबै माग छाडेर संविधान जारी गराइदिए ।

यो विषय बाबुरामसँग पनि जोडिन्छ । किनभने बाबुराम आफैले जारी गरेको संविधानलाई बाहिर आएर समर्थन गर्नुको सट्टा अपूरा भनेर मजाक उडाए । उनलाई राम्रोसँग थाहा थियो कि संविधानमा सबैका माग सम्बोधन भएका छन् । यसो गर्नुको अर्थ उनी त्यो बेला भारतसँग सन्तुलन कायम गर्न चाहन्थे । भारतले उचालेर मधेसी दलहरु आन्दोलन गरिरहेका थिए । भारतसँग निकट हुनकै लागि बाबुरामले संविधानको विरोध गरे । संसद पनि छाडे र माओवादी पार्टी पनि ।

भारतसँगको कनेक्सन
नेपालको राजनीतिमा हस्तक्षेप गर्ने, नाकाबन्दी लगाएर नेपाली मार्ने जस्ता थिचोमिचोका कारण नेपालमा भारत बदनाम छ । सम्भवतः नेपालीहरुले सबैभन्दा कुनै देशलाई घृणा गर्छन भने त्यो भारत नै हो । तर बाबुरामलाई मानिसहरुले भारतकै इशारामा चल्ने व्यक्तिका रुपमा बुझे । बाबुराम कहाँ कसरी चिप्लिए भन्न सकिन्न । तर उनलाई जनताले ‘भारुराम’ भनेर बुझ्न थाले ।

बाबुरामलाई जनताले यसो भन्नुमा ‘भारतीय दूतावासको स्वेच्छाचारी खर्चलाई प्रत्साहन गर्नुु’, ‘पशुपतिमा भारतीय भट्ट राख्नै पर्ने कानुन बनाउनु’ ‘आन्तरिक छलफल नगरी भारतमा बिप्पा सम्झौता गर्नु’, ‘प्रचण्डलाई संसारकै भ्रष्ट नेता भन्न सक्ने बाबुरामले भारतको नाकाबन्दीमा निरिहता प्रकट गर्नु’ जस्ता कारणले उनी चुके । लोकमान सिंह कार्कीको कनेक्सन दक्षिणतिर भन्ने गरिन्थ्यो । अख्तियारको प्रमुख आयुक्तमा दक्षिणले लोकमानको नाम प्रस्ताव गरेपछि बाबुरामले भने, ‘उहाँजस्तो कुशल प्रशासक अरु कोही छैन ।’ जब लोकमानलाई निकाल्ने पक्षमा दलहरु पुगे त्यो बेला बाबुरामको भारत नेक्सस टुटिसकेको थियो । अनि उनै आफै भन्न थाले, ‘लोकमानलाई हटाउनु पर्छ ।’
–ध्रुव रिजाल
(यो टिप्पणी हो)

विशेष