Technology

टेलिकमको सोलार भ्युटावरमा परिणत हुँदा को बन्ने जिम्मेवार ?

टेलिकमको सोलार भ्युटावरमा परिणत हुँदा को बन्ने जिम्मेवार ?

दीपबहादुर घर्ती

जाजरकोट । जिल्लाको ग्रामीण भेगमा रहेका नेपाल टेलिकमका सोलार सेट दृष्यावलोकन केन्द्रमा परिणत हुन थालेका छन् । टेलिकमको सोलार सेट भ्युटावरमा बदलिँदा पनि सोलार सेटको संरक्षणमा कसैको ध्यानजान सकिरहेको छैन ।

जुनीचाँदे गाउपालिका–२ मा रहेको नेपाल टेलिकमको टावरमा जडान गरिएको सोलार सेट आजभोली दृष्यावलोकन केन्द्रमा बदलिन थालेको छ । उक्त सोलार सेटबाट दैनिकजसो मान्छेहरुले मनोरम दृष्यावलोकन गर्न थालेका छन् । सोलार सेटबाट प्रायजसोले दृष्यावलोकन गर्नुका साथै फोटो सुटिङ्ग गर्न थालिएको भएतापनि सम्बन्धित पक्षको ध्यान जान सकि रहेको छैन ।

हात–हातमा मोवाईल घर–घरमा ईन्टरनेट केहि बर्ष पहिले नेपाल सरकारले ल्याएको सञ्चार नीति अनुरुपमा साविकको मजकोट गाविस दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा २०६७ सालमा स्काई फोनको बिटीएस टावर निर्माण गरिएको हो । उक्त टावर निर्माणमा साविकको मजकोट गाविसले २ लाख ७४ हजार सहयोग गरिएको थियो ।

गाविसको आर्थिक सहयोगमाफोन टावर जडान भएपछि त्यस क्षेत्रका नागरिकहरुले मोवाइल फोन सेवाप्राप्त गरेको तत्कालिन गाविस मुखिया प्रेमबहादुर कार्कीको भनाई रहेको छ । साविकको मजकोटसहित, दह, कोर्ताङ्ग, गर्खाकोट, सुवानाउली, झाप्रा, पजारु लगाएतका गाविसमा बसोवास गर्ने नागरिकहरुले मोवाइल–फोन सेवाप्राप्तको मुखिया कार्कीले जानकारी गराए ।

उक्त टावर निर्माणमा स्थानीयको श्रमदानबाट २ कोठे भवन निर्माण गरिएको थियो भने, दुरसञ्चारले आवश्यक प्रविधि उपलब्ध गराएको थियो । यस्तै यहाँको सामुदायिक वनले भवन निर्माणका लागि जग्गा उपलब्ध गराएको थियो । मोवालफोन सेवा सञ्चालन गर्नको लागि विभिन्न संरचना निर्माण गरिएको भएतापनि टावर सुरक्षाका लागि घेराबार भने बन्न सकेको थिएन ।

घेराबार बनाउन नसक्नुको फाईदाका रुपमा टेलीफोन टावरमा जडान गरिएको सोलार सेटलाई भ्युटावरका रुपमा प्रयोग गर्न थालिएको मुखिया कार्कीको भनाई रहेको छ । सुरक्षागार्डका रुपमा नियुक्ति गरिएका व्यक्तिले टावर सुरक्षामा ध्यान दिन नसकेपछि टावरमा जडान गरिएका विभिन्न सामाग्रीहरु सुरक्षा हुन नसकेको उनले बताए ।

दुर्गम ठाउँमा राखिएको मोवाइल टावरको सुरक्षामा ध्यान नदिँदा सेवा गुणस्तरता कमजोर हुनुका साथै सामाग्रीमा क्षती पुग्नथालेको छ । दूरसञ्चारले दुर्गम क्षेत्रमा जडान गरिएका टावरहरुको जिम्मा सामुदायिक वन, साविकको गाविस तथा उक्त क्षेत्रका सरकारी निकाय, जग्गा दातालाई सुरक्षाको जिम्मा दिने गरेपछि उनीहरुको लापरवाहीबाट यस्तो समस्या आउन थालेको छ ।

मजकोटमा उक्त बिटिएस निर्माणपछि सुरक्षाको जिम्मा सामुदायिक वनले लिएको थियो । टेलिकमले जग्गा उपलब्ध गराएको सामुदायिक वनको खातामा सुरक्षा गार्ड लाइदिने तलब वापत रकम उपलब्ध गराइदिने सम्झौता भएपछि वनले स्थानीय डबलकुमार नाथलाई टावर हेरालु तथा सुरक्षा गार्डमा नियुक्त गरेको थियो तर, टावर निर्माण भएदेखि सुरक्षा गार्ड नियमित रुपमा टावर भएको स्थलमा नदेखिने गरेको स्थानीयहरुको भनाई रहेको छ । दुरसञ्चार प्राधिकरण नाफा मुखि संस्था नभएको हुँदा टेलीफोन टावरबाट हुने आम्दानी टेलिकमले लिने भएको हँुदा टावर सुरक्षामा टेलिकमले नै ध्यानदिनु पर्ने स्थानीयको भनाई रहेको छ ।

दुर्गममा रहेका विभिन्न बिटिएसहरुको सुरक्षा व्यवस्था मिलाइएको दाबी नेपाल टेलिकम,जाजरकोटले गरेको छ । जुन ठाउँमा टावर राखिएको छ, त्यसको सुरक्षा जिम्मा सम्बन्धित ठाउँका कुनै न कनै व्यक्ति वा निकायलाई दिइने गरेको टेलिकम जाजरकोटका प्रमुख लोकेन्द्र भण्डारीले बताए । उनले टावरमा क्षतिपुग्ने गरि हुने गरेका क्रियाकलापका बारेमा आफुलाई कुनै पनि जानकारी नआएको बताए ।

टेलिफोनका टावर जडान गरिएका सवै ठाउँहरुको अनुगमन गरेर असुरक्षाका कारण टावरमा क्षेतीपुगेको पाइएमा सुरक्षा गार्ड वा सुरक्षाको जिम्मा लिएका संस्था वा व्यक्तिलाई कारबाही गरिने नेपाल टेलिकम,जाजरकोटका प्रमुख भण्डारीले बताए । जिल्लाका नायकवाडा, भगवती, पैँक, मजकोट, मझेरी, मछाइना, सल्लीभिरमा बिटिएस टावर जडान गरिएको छ तर, ती ठाउँहरुमा पनि सुरक्षाको राम्रो व्यवस्था भने, हुन नसकेको स्थानीयहरुको गुनासो रहँदै आएको छ ।

दूरसञ्चारले मूख्य रिपिटर टावरहरुमा सुरक्षा गार्ड नियुक्त गर्ने गरिएको तर, बिटिएसहरुका लागि स्थानीय स्तरमै सुरक्षाको जिम्मेवारी दिइने भएकाले जिम्मा लिएका व्यक्तिबाट लापरबाही भएको हुन सक्ने नेपाल दूरसञ्चार प्राधिकरण मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय नेपालगञ्जका बरिष्ठ सहायक केशव विसीले बताए ।

दुर्गममा पुग्न कठिनाइ हुने भएकाले त्यहाँकै सम्बन्धित व्यक्तिलाई सुरक्षाको जिम्मेवारी दिइने भएकाले जिम्मा लिएका व्यक्तिहरुको लापरबाहीबाट त्यस्तो हुन सक्ने उनको भनाइ छ ।

टेलिकमले टावर जडान गरेपछि दुर्गमका प्रायःनागरिकहरु मोवाइल सेवाको पहुँचमा पुगेका छन् । यसरी जडान् गरिएका टावरहरुमा सुरक्षा व्यवस्थामा गम्भीर बन्न नसक्नुले सेवाग्राहीलाई प्रत्यक्ष असर पर्नुका साथै नेपाल टेलिकमलाई प्राप्तहुने आम्दानीमा समेत कमी आउने गरेको छ ।

Telecom View Tower

विशेष