खेल

ओरालो लागेको नेपाली क्रिकेट, पारसको विकल्पमा बहस किन नथाल्ने ?

ओरालो लागेको नेपाली क्रिकेट, पारसको विकल्पमा बहस किन नथाल्ने ?

काठमाडौं । नेपाली क्रिकेट एउटा नयाँ उचाइमा पुगेर खस्कियो । क्रिकेट प्रेमीहरु यतिबेला खिन्न छन् । एकपछि अर्को खेलमा पराजित हुँदै नेपाल डिभिजन टुमा घटुवा भएको छ । हालै भएको नेपाल र हङकङको खेलमा नेपालले सबैभन्दा खराब प्रदर्शन ग¥यो जसका कारण विश्वकप खेलेको नेपाल अहिले डिभिजन २ मा घटुवा भएर फर्किएको छ । २०१४ को विश्वकपको अनुभव गरिसकेको नेपाली टिम पछिल्लो दुई वर्षमा माथि उक्लनुको सट्टा झन खराब स्थितिमा रहेको छ ।

कुनै बेला नेपाल भन्दा कमजोर मानिएका देशहरु हङकङ र यूएईले उल्लेख्य सुधार गरेका छन् र जसका कारण उनीहरु एकदिवसीय खेलका मान्यता पाउन लायक भइसकेका छन् । तर अहिले नेपालको क्रिकेटको स्तर भने झन खस्कँदो छ । क्रिकेटमा उल्लेख्य प्रगति गरेको नेपाल पछिल्लो दुई वर्षमा उकालो लाग्नुभन्दा पनि झन तल झर्न थाल्यो ।

क्रिकेटका लागि सरकारले समेत ‘क्रिकेट विकासका’ लागि भनेर रकम बिनियोजन गरेको छ । सरकारले हरेक ठूला प्रतियोगितापछि सम्मानस्वरुप आर्थिक पुरस्कारको व्यवस्या पनि गरेकै छ । नेपाली क्रिकेट एसोसिएसनमा भएको किचलोका कारण आईसीसीले नेपाललाई निलम्बन ग¥यो । तर खेलाडीहरुको प्रोत्साहनका लागि उनीहरुले खेल्न भने पाउने भए ।
नेपाली क्रिकेटमा अहिले ठूला ठूला प्रतियोगिताहरु भइरहेका छन् । धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग जस्ता ठूला धनराशीका प्रतियोगिता सञ्चालन भएकै छन् । नेपाली क्रिकेट टोलीले आईसीसीको मापदण्डअनुसारकै सुविधाहरु पाइरहेका छन् ।

कमी छ त केवल अन्तर्राष्टिय स्तरको खेलमैदानको । तैपनि क्रिकेट टिमलाई देश बाहिर लगेर भए पनि अभ्यास खेलहरु गराइरहेको छ । नेपाली क्रिकेट लज्जास्पद हार बेहोरिरहेको बेलामा भने पारिश्रमिकको कुरा उठाएर किचलो झिकिरहेका हुन्छन् नेपालका क्रिकेटरहरु ।

वास्तवमा जब राष्ट्रको प्रतिनिधित्वको सवाल आउँछ यसलाई पैसासँग जोड्नु हुँदैन । यसलाई राष्ट्रको गौरवसँग जोडेर हेर्नु पर्छ । नेपालीको क्रिकेट मोहका कारण अहिले राष्ट्रिय टोलीले पाएको नतिजालाई हेर्ने हो भने क्रिकेटको कप्तान नै परिवर्तन गर्नु पर्छ भन्ने बहस पनि आइरहेको छ । आखिर किन फेर्नु पर्छ भन्छन् त क्रिकेट प्रेमीहरु कप्तानलाई ? यस्तो छ पारस खड्काले दुई वर्षमा प्राप्त गरेको नतिजा

अपरिपक्व कप्तानी

पारस खड्का राम्रा र सबैका प्रिय पनि छन् । उनले पछिल्लो दुई वर्षमा कुनै पनि प्रतियोगितामा राम्रो नतिजा दिन सकेनन् । कुनै बेला राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य बनेका एक खेलाडी भन्छन्, ‘पारसलाई बदल्ने बारे कसैले भन्दै भन्दैन किनकी ऊविरुद्ध बोल्नु त्यस खेलाडीका निम्ति स्थान गुम्नु जतिकै हो ।’ यस्तोमा एउटै व्यक्ति हरेक पटक नेतृत्वमा आउनुले अरुहरुको मनोबल झर्ने अथवा उनलाई नै थकानको महसुस हुनसक्छ ।

‘टिमको कप्तान पद कसैलाई सम्मान गर्न बनाएको स्थान होइन, उनले २०१४ को विश्वकपमा पु¥याए भनेर कप्तान बनाइरहनु गलत कुरा हो । सही के हो भने कप्तानले हरेक पटक जिताउने हिम्मत राख्नु पर्छ,’ उनले भने ।

भारतलाई दुई–दुई पटक विश्वकप दिलाएका महेन्द्रसिंह धोनीले अष्टे«लिया दौरानमा टिम इन्डियाले हार बेहोरेपछि नैतिकताको आधारमा राजिनामा दिए । पाकिस्तानले क्रिकेटमा गुम्दै गएको स्थानलाई सुरक्षित गर्न अजर अलीलाई कप्तानी सुम्पियो, फलस्वरुप पाकिस्तान लयमा पनि फर्कियो । साउथ अफ्रिका त्यसैगरी इंल्याण्डमा पनि परिस्थितिअनुसार कप्तान परिवर्तन गर्ने चलन छ । तर नेपालमा हरेक फरम्याटमा पारस छन्, चाहे जितोस चाहे हारोस् ।

फुटबलमा त्यसैगरी एकपछि अर्को गर्दै नेपाली टिमले हार्दै गयो, पछि छानविन भयो, तत्कालीन कप्तान सागर थापासहित पाँचजना खेलाडीलाई म्याच फिक्सिङको आरोप लाग्यो । खेलाडीहरु कारबाहीमा परे र त्यसपछि नवयुग श्रेष्ठहरुले नेपाललाई केही उपाधी जितेर ल्याइदिए । हामी त्यसैमा मख्ख प-यौं । क्रिकेटमा पनि यस्तो भएको हुनसक्छ छानविन कसले गरिदिने किनकी क्यान आफै निरिह छ । उसलाई आफ्नै अस्तित्व बचाउन मुस्किल परेको छ ।

पछिल्ला खेलहरुमा पारस खड्काका निर्णयहरु गलत सावित भएका छन् । उनले पछिल्लो समय गरेका निर्णयका कारणले नै नेपाली क्रिकेट टोलीले हार व्यहोर्दैै आएको छ ।

केही खेलाडीहरु यस्ता छन् हरेक खेलमा खराब प्रदर्शन गरिनै रहेका हुन्छन् तथापी उनीहरु नै टिममा परिरहेका हुन्छन् । विश्व लिग च्याम्पियन सिपको हरेक प्रतियोगितामा विनोद भण्डारी फर्ममा छैनन् तर पनि उनलाई हरेक खेलमा मुख्य ब्याट्सम्यान बनाइएको हुन्छ । नेपाली टिमका कोच जगत टमटाले खुल्लारुपमै विनोदलाई दिएको स्थान ‘जुवा खेलेको’ भनेर स्वीकारेका छन् ।

ओपनिङमा सँधै समस्या

नेपालले खेल हार्नुपर्ने मुख्य कारण ओपनिङ समस्या नै हो । जग बलियो भए पो घर बलियो हुन्छ । नेपालको तर्फबाट जग सधै धर्मराइरहेको हुन्छ । नेपालको ब्याटिङ सधै मध्यक्रमका ब्याट्सम्यान, त्यो पनि पारस की ज्ञानेन्द्र । कहिलेकाँही भाग्यले साथ दिए शरदले सम्हालेका हुन्छन् । अन्यथा पूरै टिमको स्कोर एक सय कटाउन हम्मे हम्मे परिरहेको हुन्छ ।

नेपाली टोलीका लागि ५० ओभरसम्म टिक्नु सपना जस्तै भएको छ । यदि उनीहरुले ५० ओभर खेले भने १ सय ५० पुगेकै हुँदैन ।

नेपालको हरेक म्याचमा ओपनिङ फेल भइरहेको छ । न त यसले सलामी ब्याटिङ गर्ने भन्ने निश्चित भएको हुन्छ । प्रायः सलामी बलरको रुपमा फास्ट बलर खेलाउने क्रिकेट कल्चरको विकास विश्व क्रिकेटमा भएको छ । त्यसका लागि फास्ट बलको सामना गर्न सक्ने आत्मविश्वासी र बलियो खेलाडी ओपनिङमा आउनु पर्दछ ।

अल्छी लाग्दो फिल्डिङ
जारी प्रतियोगीतामा केही दृष्यहरु यस्ता यस्ता देखिएकी हाम्रा खेलाडीहरु जित्न होइन हार्न खेलिरहेका छन् । खेलाडीमा हुनुपर्ने जोस जाँगर मरेर लत्रिएर खेलेको जस्तो लाग्छ । रन आउट गर्ने बेलामा एउटा मात्र हातले क्याच गर्न तम्सन्छन् विकेट किपर । यस्तो खेल कयौं पटक नेपाली दर्शकहरुले हेरेका छन् ।

खेल जित्न खोज्दा हार्नु स्वभाविक हो । तर हार्नकै लागि खेल्नु अपराध हो । हङकङसँगको प्रतियोगितामा पिचमा प्रवेश पाएका खेलाडीहरुमा त्यो उन्माद थिएन र चिन्ता पनि कतै देखिएन । फममा नहुनेले लालची गरेर मेहनतीहरुको प्रगतिको तगारो बन्नु हुँदैन । टिकाउ र भरपर्दा खेलाडीहरुको छनोटमा छनोट समितिले काम गर्नु पर्छ, न कि सिफारिसको आधारमा खेलाडी चयन ।

कप्तान परिवर्तन गर्दा वा टिमलाई पुनर्गठन गर्दा नेपालले उपाधि उचाल्न सक्छ भने किन त्यसतर्फ ध्यान नजाने क्यानको ? यदि सम्मान नै दिने पद कप्तान पद हो भने महबुब आलमलाई कप्तान बनाउदा भयो किनकी उनको नाममा गिनिज बुकमा कीर्तिमान नै छ । यति मात्र होइन क्रिकेटको लामो अनुभव उनीसँग छ । होइन भने कप्तान परिवर्तन गरेरै भएपनि क्रिकेटमाथिको जनताको भावना र राष्ट्रको लगानीको कदर गरिनु पर्छ ।

 

विशेष