मनोरञ्जन

यस्तो बन्यो छक्का पञ्जा २, पेट मिचिमिची हाँस्न चाहनुहुन्छ भने इच्छा पूरा हुँदैन

मञ्जु मिश्र

यस्तो बन्यो छक्का पञ्जा २, पेट मिचिमिची हाँस्न चाहनुहुन्छ भने इच्छा पूरा हुँदैन

फूलपातीको दिन देशव्यापी प्रदर्शनमा आएको दीपाश्री निरौला निर्देशित चलचित्र छक्का पञ्जा २ ले नेपाली सिनेमा हलहरु तानिए पनि दर्र्शक भन्ने तान्ने अवसर सिर्जना गरेको छैन । छक्का पञ्जा हेरेर रमाएका दर्शक छक्कापञ्जा २ मा आइपुग्दा भने निराश हुन्छन् । उही नाम, त्यही परिवेश तर फरक कथा भनिएको चलचित्र पुरानै पारामा अगाडि बढ्छ । सिनेम्याटोग्राफीमा लोभ गरेर सिनेमाबाट धेरै भन्दा धेरै कमाउन खोजिएको छ । सामाजिक सन्देशलाई माध्यम बनाएर यो चलचित्रलाई दीपकराज गिरीले केवल व्यावसायिक बनाउन खोजेका छन् ।

यस चलचित्रको बस्तुगत समिक्षा यस्तो छ ।

सामाजिक बस्तु : सिनेमाले पूरै अवधीमा तपार्इंलाई नेपाली युवाको विदेश मोह दर्शाउन खोज्छ । चलचित्र जसरी पनि अष्ट्रेलिया जान चाहिरहेकी युवतीको वरिपरी नै घुम्छ । आफ्ना प्रेमीलाई भेट्ने र उतै जिन्दगी बिताउन चाहिरहेकी एक उच्च घरानीया युवतीले अनुभव गर्नुपरेको आरोह अवरोह, संघर्ष र असफलतामै रुमलिन्छ । शहरकी एक प्रतिष्ठित अधिवक्ताकी एक्ली छोरीले अष्ट्रेलिया जाने चाहना गर्दा आईपर्ने समस्यालाई सिनेमाले अन्त्यसम्म डोहोर्याएको छ । नेपालमा भविष्य नै नदेख्ने आधुनिक पुस्तालाई सिनेमाले गतिलो सन्देश दिन खोजे पनि आखिरमा विदेश जानु ठूलो कुरा होइन भनेर सिनेमाले सामाजिक सन्देश दिन खोजेको छ ।

सांंस्कृतिक पक्ष : न त फिल्म पूरै काठमाडौंको बन्न सकेको छ न त पश्चिमको नै । अर्काे कुरा दीपकराज गिरीले प्रयोग गरेको अछामी भाषामा कुनै आत्मियता भने दर्शकले पाउँदैनन् । उनले अछामी मीठो भाषालाई अत्यन्तै मेल नखाने हिसावले बोलेका छन् । समग्रमा अछामी भाषामा उनको कुनै लगाव देखिँदैन, जति बोल्छन् बनावटी लाग्छ र जबरजस्ती पनि । उनको बोल्ने शैली नै असान्दर्भिक छ, यदि तपाईं अछामी भाषा प्रेमी हुनुहुन्छ भने सिनेमा हेरेर बाहिर निस्कदा दीपकराज गिरीलाई गाली गर्नसमेत पछि हट्नुहुन्न । पश्चिममा कुँवर थरलाई राजा मानिदैन भन्ने हेक्कासमेत राखिएको छैन । सुदूरपश्चिमकै कुरा गर्ने हो भने कुँवरलाई ठकुरी नै नमान्ने चलन छ । तर कुनै अध्ययन बिना नै सिनेमामा यो विषयबस्तु लादिएको आभाष सुदूरपश्चिमबासीले मात्र वा समाजको बनावटमा चासो राख्नेले गर्न सक्छन् ।

गीत संगीतमा लोकगीतको झल्को हेर्न पाउनुहुन्छ, तथापी दुई वटम गीत ए दाजु नसमाउ नारीमा.... र झ्याम्म भ्mयाम्म दुवै राम्रा बनेका छन् चोरीको आरोप लागे पनि ।

अभिनय दक्षता : तपाईं दशैंको बेलामा कुनै नौलो सिनेमा हेर्न चाहनुहुन्छ भने यो सिनेमा नहेर्दा नै बेस हुन्छ । त्यो भन्दा त यदि तपाईं नेपाल टेलिभिजनबाट प्रस्तुत हुने जिरे खुर्सानी, मेरी बास्सै वा तीतो सत्य हेर्नुहुन्छ भने त्यही मनोरञ्जन् घरमा नै गर्न सक्नुहुन्छ, पैसा खर्च गरेर हलमा नजाँदा पनि हुन्छ । तिनै हाँस्य सृंखलाहरुमा प्रयुक्त भाषा, लवज, शैली र प्रस्तुतीकरण नै कपी पेस्ट गरिएको छ । फरक छ भने त सिर्फ पहिरन मात्र । माग्ने बुढालाई सोही चरित्रको धर्म निर्वाह गर्न लगाउनु नै सिनेमाको आफ्नै ब्राण्ड छैन भन्ने देखाउनु हो ।

प्रस्तुतीकरण : आम नेपाली चलचित्रहरुमा जस्तो भद्दा लाग्ने संवादका दृष्य हुन्छन् त्यो भन्दा फरक छैन यो फिल्मको प्रस्तुतीकरण । तर प्रियंका कार्कीको उमा चरित्रको सशक्त भूमिकाले अन्य पात्र भन्दा स्तरीय कला प्रस्तुत गरेको छ । उनको बोल्ड अवतारले वाह वाह बटुल्न उनी सक्षम देखिएकी छिन् । उनलाई दिएको कठोर र व्यावसायिक भूमिकामा अब्बल देखिएकी छिन् ।

मूल पात्र वा आकांक्षाको भूमिकामा आएकी स्वस्तिमा खड्काको अभिनयले तपाईंलाई केही हदसम्म तान्छ । उनको कामको तारिफ गर्दा केही घाटा भने हुँँदैन । स्वस्तिमाले नेपाली सिनेमा उद्योगमा बिताउन सक्ने आधार टेकेकी छिन् । उसो त सिनेमा उनैमा केन्द्रित छ । पण्डित सरस्वती प्रसादको भूमिकामा आएका जीतु नेपालले पूरै अवधीमा बोलेको लवज कुनै कविता भन्दा कम छैन । तर पनि मनोरञ्जन भने दिन्छ । वर्षा राउतको भूमिकालाई छक्कापञ्जाबाट कट गरिएर बेग्लै बनाइएको छ । चुरोट सल्काउनु बाहेक उनले पनि प्रभावित पार्न सक्दिनन् ।

नयाँ अनुहार लिएर आएका स्वरुप पुरुष ढकालको पनि सन्तोषजनक हुलिया छैन । उनले नेपाली सिने उद्योगमा केही समय काम पाउने निश्चित भएपनि चल्तीका नायक हुने गुण भने देखिदैन । त्यस्तै कन्सल्टेन्सी मामा भनेर चिनाउने केदार घिमिरे अर्थात माग्ने बुढाले केही नयाँपन दिँदैनन् । उनको ओभर एक्टिंग मन पराउनेले नौलो नमाने पनि हाँस्न भने सक्छन् । यदि यथेष्ट समय पाएको भए लक्ष्मी गिरी र टीका पहाडीले आफ्नो भूमिकामा न्याय दिन सक्थे भन्ने विस्मात लागिरहन्छ । तर दीपक र दीपाले उनीहरु दुवैजनालाई बोल्न दिएका छैनन् ।

अनावश्यक पात्र : चलचित्रमा केही पात्रहरु अनावश्यक थोपरिएको छ । जस्तो गौरव पहाडी उनको आवश्यकता कति बेला पनि पर्दैन तर १० मिनेट बढी समय उनमा खर्च गरिएको छ । सरोज खनाललाई जबर्जस्ती वकिलको भूमिकामा तानिएको छ र कमेडी गर्न लगाइएको छ । त्यही पनि उनले आफ्नो भूमिकामा न्याय गर्न सक्छन् । सरोज खनालका फ्यानहरुका लागि खुसीको कुरा हो । चलचित्रमा शिवहरी पौडलको भूमिकालाई पनि गौण गरिएको छ । आयुष्मान जोशीलाई जति भूमिका दिनु पथ्र्यो त्यति दिइएको छैन ।

चलचित्रमा यु टर्न : आमा विदेश जाने खिलाफ भएपछि जसरी पनि अष्टेलिया जान चाहने आकांक्षा (स्वस्तिमा) ले कन्सल्टेन्सी मामाको सहयोगमा प्रज्वल (स्वरुप पुरुष ढकाल) लाई संयोगले भेटाउँछिन् । पैसा नभएका प्रज्वल र धनी आमाकी छोरी स्वस्तिमाले केवल डिपेण्डेण्ट भिसा पाउनका लागि मन्दिरमा विवाह गर्दछन् । बाबु (शिवहरि पौडेल) लाई थाहा भए पनि आमा (प्रियंका कार्की) भने अनभिज्ञ हुन्छिन् । शहरकी नामी अधिवक्ताकी एक्ली छोरी हराउँदा प्रहरीको सहयोग लिएकी प्रियंकाले जव छोरीलाई विवाह गरेको घरबाट फर्काउन जुन प्रहरीको सहयोग लिन्छिन् उक्त प्रहरी दीपकराज गिरीको रुपमा देखा पर्छन् । पहिलो पटक यु टर्न यहाँ आएर लिन्छ ।

जब नक्कली विवाह गर्दा पनि भिसा नलागेपछि आफ्नी प्रेमिका भेट्न सिड्नीबाट फर्किएका आकाश (आयुष्मान जोशी) ले स्वस्तिमासँग विवाह गर्न खोज्दा पहिलो नाटकीय पतिको रुपमा देखिएका प्रज्वलबीचको अदालतसम्मको रस्साकस्सी पछि कथाले अर्को मोड लिन्छ । यो मोड भने तपार्इंले कहीँ कतै कल्पना गर्नुहुन्न ।

समग्रमा चलचित्र औसत छ । यदि तपाईं पेट मिचिमिची हाँस्न चाहनुहुन्छ भने त्यस्तो कहीँ पनि आउँदैन । भावुक सिनेमा खोजिरहनु भएको छ भने यो फिल्मले कहीँ पनि रुवाउँदैन । तर यो दशैंमा परिवारसँग बसेर हेर्न लायक सिनेमा हेर्न चाहनुहुन्छ भने छक्कापञ्जा २ रोज्न सक्नुहुन्छ ।

 

 

 

विशेष