मुख्य समाचार

निर्वाचन कार्यतालिका हेरफेर मुद्दामा आज फैसला

निर्वाचन कार्यतालिका हेरफेर मुद्दामा आज फैसला

काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन कार्यतालिका हेरफेर समेतको माग गर्दैै राष्ट्रिय जनता पार्टी नेपालका सर्वेन्द्रनाथ शुक्लाले दायर गरेको रिटमा बुधबार आदेश गर्ने भएको छ ।

मुद्दाका पक्ष र विपक्षको बहस सुनेपछि न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आजका लागि निर्णय सुनाउने मिति तोकेको हो । सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले मुद्दामा दुवै पक्षसँगको छलफल सकिएको बताए । प्रवक्ता पन्थीले भने ‘दुवै पक्षसँगको छलफल सकिएको छ । आजका लागि निर्णय सुनाउने मिति तोकिएको छ । ’

सर्वोच्चले निवेदकको मागदाबी अनुसार निर्वाचन कार्यतालिका हेरफेर र पुनः मतपत्र छपाइको आदेश गरेमा निर्वाचन तोकिएको समयमा हुने सम्भावना न्यून रहन्छ तर मागदाबी अनुसारको आदेश जारी नगरेको अवस्थामा भने निर्वाचन कार्यतालिका र तयारी अनुसार निर्वाचनको कार्यक्रम अगाडि बढ्नेछ । असोज २२ गते राजपाका नेता शुक्लाले निर्वाचन कार्यतालिका हेरफेर गरी मनोनयनपछि सार्न र मतपत्रमा अहिलेको व्यवस्था व्यावहारिक नभएको भन्दै नयाँ मतपत्र छपाइको माग गरेका थिए । प्रदेश र प्रतिनिधि सभाका प्रत्यक्ष र समानुपातिकका फरक–फरक मतपत्रको व्यवस्था गर्न पनि माग गरेका छन् । मागअनुसार आदेश जारी भएमा चार प्रकारका मतपत्र छापिनेछन् ।

शुक्लाले प्रदेश सभामा प्रत्यक्ष र समानुपातिकमा फरक–फरक मतपत्रको माग गर्नुभएको छ । यस्तै प्रतिनिधि सभामा पनि प्रत्यक्ष र समानुपातिकको फरक फरक मतपत्र हुनुपर्ने माग गर्नुभएको छ तर निर्वाचन आयोगले भने प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षका लागि एउटा र दुवैको समानुपातिकका लागि अर्को मतपत्र छपाइ गरिरहेको छ ।

गोरखापत्र

विशेष