मनोरञ्जन

‘पद्मावती’ को रंगोलीमा आक्रमण, दीपिका पादुकोणले गुहारिन् मन्त्री

‘पद्मावती’ को रंगोलीमा आक्रमण, दीपिका पादुकोणले गुहारिन् मन्त्री

एजेन्सी । बलिउड फिल्म ‘पद्मावती’ रिलिज हुनु पहिलादेखि नै विवादमा घेरिदै आएको छ । हालै गुजरातको सुरतमा ‘पद्मावती’ को रंगोली बर्बाद पारिदिने व्यक्तिमाथि दीपिका पादुकोणले कडा विरोध गर्दै सूचना तथा प्रसारण मन्त्री स्मृति इरानीलाई यस मामिलामा कारवाही गर्न सुझाएकी छिन् ।

फिल्मलाई लिएर भएको लगातारको हिंस्रक गतिविधिबाट दीपिका दिक्क भइसकेकी छिन् । उनले ट्वीटरमा एक फोटो सेयर गर्दै कलाकार करण र उनको काममा आक्रमण भएको कुरा एकदमै लज्जास्पद भएको बताएकी छिन् ।

गुजरातको सुरतमा एकजना कलाकार करण जरिवालाले ‘पद्मावती’ को रंगोली बनाएका थिए । रंगोलीमा फिल्म ‘पद्मावती’ मा रानीको भूमिका निभाएकी दीपिका पादुकोणको पोस्टरको आधारमा रंगोली बनाइएको थियो । करिब ४८ घण्टाको मेहनतपछि उक्त रंगोली तयार भएको थियो । तर, केही समयपछि करिब सय जनाको संख्यामा मानिसहरु त्यहाँ पुगे र केही छिनमै रंगोली तहस नहस गरिदिए ।

ती आर्टिस्टले केही समयमै बिगारिएको रंगोलीको फोटो राख्दै लेखेका थिए की सय जना जति मानिस आएर मिनेटमै सबै रंगोली मेटाइदिए । दीपिकाले यस मामिलालाई गम्भीरपूर्वक लिएकी छिन् । ट्वीट गर्दै दीपिकाले यस्ता हरकतलाई तत्काल रोक्नुपर्ने बताउँदै सूचना तथा प्रसारण मन्त्री स्मृती इरानीलाई ट्याग गर्दै यस मामिलामा एकसन लिन सुझाएकी छिन् ।

विशेष