मुख्य समाचार

सचिवहरुको दौडधुप सुरु, अर्थ, शिक्षा र गृहसचिव रिक्त हुँदै

सचिवहरुको दौडधुप सुरु, अर्थ, शिक्षा र गृहसचिव रिक्त हुँदै

काठमाडौं। महत्वपूर्ण, शक्तिशाली र आकर्षक मानिएका अर्थ, शिक्षा र गृह मन्त्रालयमा जान सचिवहरुले दौडधुप सुरु गरेका छन् ।

अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले पाँच वर्षे सेवाअवधि सकिएकाले कात्तिक २ देखि अवकाश पाएका छन् भने सरकारले आगामी कात्तिक ६ वा ७ मा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउने सम्भावना छ ।

अर्थ र शिक्षा सचिवले बिहीबार अवकाश पाउने भएपनि तिहार बिदा परेकाले बुधबारै बिदा लिइसकेका छन् ।

३० मन्त्रालयमध्ये सबैभन्दा आकर्षक मानिएका गृह, अर्थ र शिक्षामा जान सचिवहरुले दौडधुप सुरु गरेका हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतकाअनुसार कार्यालयका सचिव शंकरप्रसाद अधिकारी भएसम्म मुख्यसचिव र नभए अर्थसचिव बन्नका लागि तीव्र दौडधुपमा छन् ।

अर्थमै जानका लागि मन्त्रिपरिषद कार्यालयकै केदारबहादुर अधिकारी, सामान्य प्रशासनका मोहनकृष्ण सापकोटा, आपूर्तिका कृष्णप्रसाद देवकोटा, अर्थकै राजस्वसचिव शिशिरप्रसाद ढुंगाना, श्रम तथा रोजगारका लक्ष्मणप्रसाद मैनाली, अख्तियारका राजन खनाललगायतले कसरत गरेका छन् ।

अर्थ मन्त्रालय ताकेर दौडधुपमा लागेका सबै सचिवको त्यसपछिको लक्ष्य भने गृहसचिव बन्नेछ । कात्तिक पहिलो साताभित्रै गृह मन्त्रालय खाली हुने सम्भावना रहेपछि अर्थ ताकेर बसेका अधिकारी, सापकोटा, मैनालीका साथै उद्योगका शंकरप्रसाद कोइरालाले त्यहाँ जाने इच्छा राखेका छन् ।

गृहका लागि दौडधुप गरिरहेका सचिवहरुले शिक्षा मन्त्रालयको सचिवका लागिसमेत मरिहत्ते गरिरहेका छन् । प्रशासन सेवाको तीनओटा सचिव रिक्त भएपछि वरिष्ठ सहसचिवको छिट्टै सचिव बन्ने ढोका खुल्ने भएको छ ।

तीनमध्ये एकजना ज्येष्ठताका आधारमा सिफारिस हुने छन् भने बाँकी दुईजनाका लागि तेब्बर संख्यामा सिफारिस गर्नुपर्ने प्रावधानअनुसार ६ जना वरिष्ठ सहसचिव सिफारिसमा पर्ने भएका छन् ।

अन्नपूर्ण 

विशेष