खाली मैदानमा विवेकशील साझाको चमत्कार होला ?
काठमाडौं । प्रशंग विवेकशील साझा पार्टीको भए पनि सुरुवात डा. बाबुराम भट्टराईबाट हुन्छ । अबको प्रतिनिधि सभामा सांसद सुरक्षित राख्न हठात् बाबुराम भट्टराई बाम गठबन्धनमा मिसिन पुगेपछि विवेकशील साझा पार्टीका लागि मैदान खाली भएको छ । वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि भट्टराईले ‘ज्याकेट विज्ञापन’बाट सुरु गरेको अभियान दूःखद स्थितिमा अन्त्य भयो । समाउने वा टेक्ने अर्को विकल्प भेट्नु अघि नै भट्टराईले आफ्नो धरातल छाडे । उनले छाडेको धरातलसमेतमा अहिले विवेकशील साझा पार्टीको स्वभाविक दावी स्थापित भएको छ ।
राजनीतिको छक्कापञ्जा बिल्कुल नजानेका रवीन्द्र मिश्र, उज्वल थापालगायतसँग चुनावअघि नै नैतिक प्रतिस्पर्धामा बाबुराम पराजित हुनुको मूल कारण हो – लालच । प्रतिनिधिसभासम्म पुग्नै पर्ने लालचका कारण भट्टराई आफै त सकिए नै उनको पछि लागेकाहरु समेत अहिले घर न घाटको अवस्थामा पुगे ।
किनभने भट्टरार्ईले पछिल्लो समय कांग्रेससँगको तालमेलको ‘नैयाँ’ले बढिमा बाबुरामलाई मात्रै ‘वैतरणी’ कटाउने छ । गोरखामा एक्लै भिड्दा चुनाव नजितिने निष्कर्षले नै बाबुरामलाई विचलित बनाएको हो । संविधान जारी हुने बेलाको गल्तिको साँवाब्याज वर्तमानले बाबुरामसँग असूल्दै छ ।
‘भारतको भक्तिबिना यो नेपाल देशमा शासन गर्न सकिन्न’ भन्ने बाबुरामको अकण्टक विश्वास भन्दा राजनीतिमा आन्तरिक कारणहरु बलिया हुन्छन् भन्ने प्रमाणित भइसकेको छ । यो तथ्य बुझ्न थाहा छैन उनलाई कति समय लाग्छ ।
विवेकशील साझा पार्टीका लागि अहिलेको परिवेश वास्तवमै अनुकुल छ । तर सफलता त्यसैले पाउँछ जसले प्रतिकुल समयमा ‘गोल’ हान्न सक्छ । फुटबलमा पेनाल्टी (अनुकुल) पर्खेर बस्ने टिमले कहिले पनि सफलता पाउँदैन । राजनीतिको जोडघटाउ पनि त्यस्तै हो ।
राजनीतिको तराजु उचाल्न ठिक्क परेको विवेकशील साझाका लागि यो परिवेश यस अर्थमा अनुकुल छ कि जनताले उनीहरुलाई वैकल्पिक शक्तिका रुपमा केही अवसर दिन सक्छन् । त्यो अवसर उनीहरुले पाए भने सुरुवात काठमाडौंबाटै हुनेछ । किनभने काठमाडौंका मतदाताले मै हुँ भन्नेहरुलाई पनि धुलो चटाएको विगत छ । मिडिया र एक वर्गका मानिसले साझा विवेकशीलाई स्वीकार गरिसकेका छन् । आम मतदाताले कति पत्याउँछन् हेर्न बाँकी छ ।
काठमाडौंको क्षेत्र नम्बर १ बाट रवीन्द्र मिश्रले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यो क्षेत्रमा कांग्रेसका प्रकाशमान सिंहको प्रभाव रहँदै आएको छ । गणेशमानका छोराको विरासत बाहेक प्रकाशमानको अरु प्रतीभा जनताले महशुस गर्न पाएका छैनन् । तर पनि उनैलाई जनताले चुनिरहेका छन् । प्रकाशमानका कार्यकर्ता, चुनावमा पैशा खर्च गर्न सक्ने उनको हैसियत, जातीय सहानुभूतिका कारण प्रकाशमान बलिया उम्मेदवार हुन् । उनलाई पन्छाएर अगाडि आउन विवेकशील साझाका लागि सजिलो छैन । त्यसमाथि एमाले र माओवादीको गठबन्धनले स्थिति कस्तो सिर्जना गर्ने हो भन्न सकिन्न ।
स्थानीय तहको निर्वाचनमा विवेकशीलकी २१ वर्षकी रञ्जु दर्शना र साझाका किशोर थापा चर्चामा रहे । यसपटक विवेकशील साझाले २६ वर्षकी सुबुना बस्नेतलाई काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनावमा उठाउने भएको छ । यो क्षेत्र गगन थापाका कारण विशेष छ । गगन थापा लोकप्रिय नेता हुन् । उनले स्वास्थ्यमन्त्रीका रुपमा पनि राम्रो काम गरेका थिए । यहि क्षेत्रबाट एमालेले डा. राजन भट्टराईलाई उठाउने भएको छ । भट्टराई जनताका लागि असहज र डाक्टरी उपाधिको दम्भका कारण यसपटक यो क्षेत्रमा गगनको स्थिति बलियो हुनेमा कुनै शंका भएन । अब रञ्जुको जस्तै लोकप्रियता सुबुनाले पाउने हुन हैनन हर्ने बाँकी छ ।
विवेकशील साझाका दुई मध्येका अर्को सहसंयोजक उज्वल थापा काठमाडौं क्षेत्र नम्बर ५ बाट उठ्दैछन् । अघिल्लो पटक कुकुर चुनाव चिन्हबाट संविधान सभा निर्वाचनमा उम्मेदवारी दिएका उज्वलले त्यो बेला चर्चा कमाए, भोट चाहि अरुले नै पाए । यसपटकको निर्वाचनमा उज्वलको मतको भार कांग्रेस, एमाले–माओवादीका उम्मेदवारहरुका आधारमा तय हुनेछ ।
(टिप्पणी)