देश

बेलायतमा भएको सैन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण पदक

बेलायतमा भएको सैन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण पदक

मित्रराष्ट्र बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको Exercise Cambrian Patrol 2017 मा नेपाली सैनिक टोलीले स्वर्ण पदक प्राप्त गरेको छ । 

नेपाली सेनाबाट सेनानी आयुष राणाको नेतृत्वमा १० जनाको सैनिक टोली उक्त अभ्यासको लागि असोज १३ गते बेलायत प्रस्थान गरेको थियो ।

युद्धकालीन बिशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिबिधि समेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीहरूको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मुल्याङ्कन गरिन्छ । अत्यन्त कठिन भौगोलिक ईलाकामा सञ्चालन हुने यस अभ्यासमा सहभागीहरूले २ दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित लगभग ५० किलोमीटर दूरी पार गर्ने क्रममा सहभागी टोलीकोे लडाईको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानहरू सम्मको यात्रा, खोला तथा अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाईते–बिरामीको व्यवस्थापन, विस्फोटक पदार्थहरू पत्ता लगाउने क्षमता लगायत रासायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कता समेतका अनेकन दक्षताहरूको परीक्षण गरिन्छ ।

संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सम्पन्न उक्त अभ्यासमा बेलायती फौजका १११ र नेपाल समेत अन्य २८ देशका गरि कूल १३९ सैन्य टोलीहरूको सहभागिता रहेको
थियो । साथै उक्त अभ्यासमा नेपाली सेनाको प्रतिनिधित्व श्री गोरखबक्स गण तथा श्री विशेष फौज बाहिनीका टोलीले गरेको थियो ।

सो प्रतिस्पर्धात्मक अभ्यासमा भाग लिने अन्य राष्ट्रको फौज मध्ये करिब ३३ प्रतिशत सहभागीहरूले सो अभ्यास पूरा गर्न सकेका थिएनन् ।

 

Nepali Sena gold medal united kingdom

विशेष