मनोरञ्जन भिडियो

विवाहमा चित्त नबुझेपछि होटल नै छाडेर गए माग्ने बुढा, पछि यसरी सम्झाए दीपकराज गिरीले (भिडियोसहित)

विवाहमा चित्त नबुझेपछि होटल नै छाडेर गए माग्ने बुढा, पछि यसरी सम्झाए दीपकराज गिरीले (भिडियोसहित)

काठमाडौं । अल्सरले थलिएर स्वास्थ्यलाभ गरिसकेपछि चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अहिले फेरि कलाकारीतामा व्यस्त छन् । उनको विशेष भूमिका रहेको चलचित्र ‘छक्कापञ्जा–२’ मा उनी जमेका छन् । धेरैले उनको अभिनयको तारिफ गरेका छन् ।

सडक पेटीमा पसल गर्दा नगरपालिकाको प्रहरीले लखट्थ्यो । भएको सामान छाडेर भाग्दा भाग्दा उनी कलाकारीता क्षेत्रमा प्रवेश गरे । उनी सम्झिन्छन्, अहिलेको ‘माग्ने बुढा’ बनाइदिनमा नगरपालिकाका प्रहरीको पनि योगदान छ । ‘रिल’का ‘माग्ने बुढाको’ अवस्था रियलमा दयनीय छैन । कुनै बेलामा फुटपाथमा पसल थापेर हिड्ने घिमिरेले आफ्नै बलबुतामा काठमाडौंमा साढे दुई तल्ले घर ठड्याइसकेका छन् । २२ लाखको त गाडी नै चढ्छन् । तर, यो सबै सामान्य जीवनस्तरको लागि मात्र अपनाएका हुन् उनले । गाडी चढ्न पनि श्रीमतीको करकापले चढेको बताउने उनले लगाउन र खानमा त्यत्ति धेरै शौख नरहेको जानकारी दिए ।

केदारको सामान्य तर गहकिलो धारणा के भने उनी ‘मान्छेले कहिले पनि आफनो धरातल बिर्सनु हुँदैन’ भन्ने ठान्छन् ।
..
नेपाली कलाकारिता क्षेत्रमा ‘माग्ने बुढा’ नाम एक प्रकारको ब्राण्डजस्तै भइसकको छ । अन्य कलाकारको राम्रो पक्षसँगै आलोचना पनि सुन्न पाइन्छ । तर माग्ने बुढा एक त्यस्ता कलाकार हुन् जसलाई देखेर दर्शकले विरलै नाक खुम्च्याउँछन् । हालै उनले चलचित्र ‘छक्का पञ्जा’ बाट सर्वोत्कृष्ट हाँस्य कलाकारको अवार्ड थापे । अवार्डको बारेमा बोलेर फाइदा पनि नहुने हुनाले आफू कर्म गर्ने र कसैले अवार्ड दिएमा खुशी हुने बताउँछन् उनी । हाँस्य कलाकारहरुको टोलीले निर्माण निर्देशन गरेको फिल्म ‘छ एकान छ’, ‘वडा नम्बर ६’, ‘छक्का पञ्जा’ र ‘छक्का पञ्जा २’ सम्म आउँदा उनको ‘माग्ने बुढा’को लवज कतै फेरिएको छैन । फेरिएको हुन्छ त केवल पहिरन । सधैं एउटै स्वरुपमा प्रस्तुत हुँदा उनलाई पनि कता कता दिक्क लाग्ने रहेछ । मनमा कता कता दर्शकलाई वाक्क पो लागेको हो कि ? भनेर पनि आफैँलाई प्रश्न गर्छन् ।

तर, माग्ने बुढाको त्यही शैली नै दर्शकलाई चित्त बुझ्ने हुनाले निर्देशकले पनि उनका अन्य कलालाई कोट्याउन चाहेका छैनन् । परिआएको खण्डमा अन्य भूमिकामा पनि काम गर्ने इच्छा भएको उनले बताए ।

नाच्न भनेपछि उनलाई मरिगए जाँगर नचल्ने । एकपटक त्यस्तै भयो । ‘सुर्के थैली खै’ मा उनलाई नचाउनुपर्दा नृत्य निर्देशकलाई कम्ति सकस परेन । ‘अरुको नाचेर पसिना आउँछ, तर मलाई नचाउँदा त निर्देशकको पसिना आयो ।’ उनले सुटिङका रमाइला किस्सा सुनाए ।

फिल्म ‘छक्का पञ्जा २’ मा आएर भने माग्ने बुढा पनि आलोचनाको शिकार भएका छन् । उनले खेलेका भूमिका ‘कन्सल्टेन्सी मामा’ पात्रले विदेश जान सहयोग माग्न आएका ग्राहकको विवाह गराइदिन गाउँ नै पुगेका कारण कन्सल्टेन्सी व्यवसायीहरुले यसबारे खुब धज्जी उडाए । वास्तावमा केदार आफैं पनि यस कुराको विरोधमा रहेछन् । फिल्मको कथा लेखिनुअघि उनले पनि प्रश्न गरेछन्, ‘म कन्सल्टेन्सीको मान्छे भएर आफैं विवाह गराउन किन हिँड्ने ?’

यस पछाडिको यथार्थ सुनाउँदै उनले आफूलाई यसबारे चित्त नबुझेर एकदिनसम्म स्कृप्ट लेखन रोकिएको पनि बताए । यो विषमा गोकर्ण रिसोर्टमा एक रात सम्म छलफल भएपनि सहमत नभएपछि होटल नै छोडेर हिँडेको उनले बताए । तर, पछि दिपकराज गिरीले सम्झाएछन् । काल्पनिक कथामा हुबहु एउटै देखाउँदा माग्ने क्यारेक्टरले दर्शकलाई मनोरञ्जन नदिने हुँदा अन्तिममा उनी राजी हुन बाध्य भए ।

केही महिनाअघि उनी बिरामी भएको खबर पनि बाहिरियो । केदारलाई डिप्रेसन भएको खबर विभिन्न सञ्चारमाध्यमले समाचार बनाए । तर, भएको अर्कै रहेछ । दर्शकले बुझ्दा मानसिक रोग लागेको भन्ने बुझ्न गए । उनलाई अल्सर भएको रहेछ । उनलाई पेट असाध्यै दुख्ने तर डाक्टरले भने ‘तपाईले दिमागमा दुखेको सोचेर त्यस्तो भएको हो’ भनेर सम्झाउँदा रहेछन् । रिपोर्टमा केही नदेखिएपछि डाक्टरले भन्ने पनि त्यही हो । तर उनलाई अल्सर भएको रहेछ ।

आम दर्शकले माग्ने बुढालाई मानसिक रोग लागेको बुझे । अहिले विदेश गएको बेलामा औषधि तलमाथि हुँदा डाक्टरलाई सम्झिन्छन् उनी । डाक्टरले उनलाई भन्थे दुखे पनि दुखेको महसुश नगर्नु । हाँस्दै उनले भने,‘दुखिसकेको कुरा कसरी महशुस नगर्ने ?’

Kedar Ghimire Magne Budo

विशेष