खेल

स्टिङ्ग अपरेशनमा क्यूरेडर पिच फिक्सिङका लागि तयार भएको खुलासा

स्टिङ्ग अपरेशनमा क्यूरेडर पिच फिक्सिङका लागि तयार भएको खुलासा

भारत र न्यूजिल्याण्डबीच भएको एक दिवसीय क्रिकेट खेल अगाडि क्यूरेडर पाण्डुरंग सलगांवकर पिच फिक्सिङका लागि तयार भएको खुलासा भएको छ ।

इन्डिया टुडेले गरेको स्टिङ्ग अपरेशनमा उक्त कुराको खुलासा भएको हो । भारतको पुणेमा बुधबार हुन लागेको खेलमा आफ्ना खेलाडीलाई उपयुक्त हुने पिच बनाइदिने प्रस्तावसहित बुकीस् बनेर गएका रिपोर्टहरूसँग उनी पिच भने बमोजिम बनाइदिन राजी भएका हुन् ।

रिपोर्टरको आफ्ना दुई खेलाडीका लागि पिचमा केही परिवर्तन गर्ने प्रस्ताव उनले सहर्ष स्वीकार्दै भने, ‘जुन पिच म बनाउँछु त्यसमा ३३७ रन सम्म सजिलै बनाउन सकिन्छ ।’ रिर्पोटरले पिच हेर्न खोज्दा सजिलै उनले पिच देखाउन राजी भएको समेत उक्त अपरेशनमा खुलेको छ । नियम अनुसार खेल हुनु अगाडि कप्तान र कोच बाहेक अरु कसैले पनि पिच हेर्ने अनुमति छैन । तर क्यूरेटर सलगांवकरले भने पैसाका लागि जो कोहीलाई पनि पिच हेर्ने अनुमति दिए ।

पिच देखाउँदै पाण्डुरंगले ५ मिनेटमा नै पिच बदल्न सक्ने कुराको खुलासा समेत गरे । उनका अनुसार यदी पिचमा थोरै मात्र माटो थपिदिने, पानी हालिदिने जस्ता कार्य गर्दा पिचमा सजिलै बदलाव आउँछ ।

इन्डिया टुडेको उक्त अपरेशन हेरिसकेपछि बीसीसीआइका कार्यवाहक सचिव अमिताभ चौधरीले उनलाई कडा भन्दा कडा कारबाही गरिने बताए । त्यसैगरी भारतीय क्रिकेट टिमका पूर्व कप्तान शौरव गांगुलीले यदी सलगांवकरले पिच फिक्सिङ गर्न खोजेको हो भने उनलाई कडा भन्दा कडा कारवाही हुनु पर्ने बताए ।

यसअघि पनि अष्ट्रेलिया र भारतबीच भएको खेलमा पुणेको पिच सबैभन्दा नराम्रो भएको भन्दै सलगांवकरको आलोचना भएको थियो ।

–एजेन्सी

pitch fixing

विशेष