फिल्म साउथएसिया २०१७ अर्को हप्ता शुरू हुने
काठमाडौँ । दक्षिण एसियाको प्रतिष्ठित वृत्तचित्र प्रदर्शनी मेलाको एघाराैं संस्करण ‘फिल्म साउथएसिया २०१७’ कार्तिक १६ गते बिहिबारदेखि ललितपुरको यलमाया केन्द्रमा शुरू हुने भएको छ ।
‘वृत्तचित्र एक साक्षी’ नाराका साथ हुन लागेको फिल्म साउथ एसिया २०१७ चार दिनसम्म चल्नेछ । सन् २०१५ यता बनेका दक्षिण एसियाका समसामयिक विषयहरूमा केन्द्रित ३०० सयभन्दा बढि वृत्तचित्रहरूमध्येबाट छानिएका उत्कृष्ट ६३ वृत्तचित्रहरू प्रदर्शन गरिनेछ ।
सन् १९९७ मा शुरू भएको यो द्विवार्षिक मेलाले परिवर्तनकारी सोचलाई प्रवर्धन गर्ने दक्षिण एसियाली विषयका वृतचित्रहरू विगत २० वर्षदेखि प्रदर्शन गर्दै आएको छ ।
फिल्म साउथएसिया २०१७ ले यस क्षेत्र र विश्वका उत्कृष्ठ सिनेमाकर्मीहरूलाई एकै मञ्चमा ल्याएर वृत्तचित्रका बारेमा छलफल गर्ने र वृत्तचित्र निर्माणलाई प्रभावकारी बनाउने उद्देश्य रहेको विज्ञप्तिमा जनाइएको छ ।
यो वर्ष प्रदर्शन हुने ६३ मध्ये ४५ वटा वृत्तचित्रहरूले पाँचवटा पुरस्कारकालागि प्रतिस्पर्धा गर्नेछन् । उत्कृष्ट हुने वृत्तचित्रले २,००० अमेरिकी डलर राशी रहेको रामबहादर ट्रफि प्राप्त गर्नेछ भने द्वितीय हुने वृत्तचित्रले १,००० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ ।
त्यस्तै निर्देशकको पहिलो वृत्तचित्रहरुमध्येमा उत्कृष्ट हुनेले १,००० अमेरिकी डलरको तारेक मसूद पुरस्कार, बालबालिकाको विषयकेन्द्रित उत्कृष्ट वृत्तचित्रले १,००० अमेरिकी डलरको युनिसेफ पुरस्कार र विद्यार्थीहरूले निर्माण गरेका मध्येको उत्कृष्ट वृत्तचित्रले ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।
वरिष्ठ पत्रकार कुन्द दीक्षित संयोजक र पाकिस्तानी सिनेमाकर्मी फरजाद नावी र भारतीय पत्रकार राजश्री दासगुप्ता सदस्य रहेको निर्णायक समितिले उत्कृष्ट वृत्तचित्रहरू छान्नेछ । सो समितिले छानेका पुरस्कृत र अन्य प्रतिनिधि वृत्तचित्रहरूलाई २०१८ मा ‘ट्राभलिङ् फिल्म साउथ एसिया’को नामबाट दक्षिण एसिया र विश्वका अन्य भागहरूमा प्रदर्शन गरिनेछ ।
‘फिल्म साउथ एसिया २०१७’ मा दई विशेष खण्डहरू समावेश गरिएका छन् । ‘विद्यार्थी वृत्तचित्रहरू’मा भावी सिनेमाकर्मीहरूको ६ वटा वृत्तचित्र प्रदर्शन गरिनेछ भने ‘विद्रोहका वृत्तचित्र’ खण्डमा दक्षिण एसियाली देशमा प्रतिबन्धित वा विद्रोहसँग सम्बन्धित १२ वटा वृत्तचित्रहरू प्रदर्शन गरिनेछ ।
‘फिल्म साउथ एसिया २०१७’ का मेला निर्देशक मितु वर्माका अनुसार ‘यो वर्ष प्रदर्शनका लागि दक्षिण एसियामा देखिएको असाधारण र रोचक समसामयिक अवस्था झल्काउने उत्कृष्ठ वृत्तचित्रहरू’ छानिएकाछन् ।
film south-asia 2017