मुख्य समाचार

उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिने

उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिने

काठमाडौं । मङ्सिर १० मा हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । उम्मेदवारको मनोनयनमाथि परेको उजुरीमा मङ्गलबार जाँचबुझ गरीएको थियो भने बुधवार उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।

निर्वाचनका लागि कात्तिक ५ मा भएको मनोनयन दर्ताको सूची सोही दिन प्रकाशन भइसकेको छ भने ६ गते उम्मेदवारको विरोधको उजुरीका लागि समय निर्धारण गरिएको थियो ।

यो चरणमा प्रत्यक्षतर्फ ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभामा निर्वाचन हुँदैछ । उम्मेदवारी फिर्ताका लागि कात्तिक ८ गतेका लागि तोकिएको छ । फिर्तापछि सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न पनि प्रदान गरिनेछ । लोकतान्त्रिक र वाम गठबन्धन दुवैबाट पार्टीको निर्णयविपरीत बागी उम्मेदवारी परेकाले फिर्ता गराउन ती गठबन्धनले प्रयास जारी राखेका छन् ।

प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन सोही प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिले मनोनयन गर्न नपाइने कानुनी व्यवस्था छ । एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्नेछ । एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएमा त्यस्ता उम्मेदवारको सबै क्षेत्रको उम्मेदवारी बदर हुनेछ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३२३ र प्रदेशसभातर्फ ४८४ गरी जम्मा कुल ८०७ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारीमा परेका उजुरीउपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ र कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

मङ्सिर २१ गते दोस्रो चरणमा तराई–मधेस र पहाडका ४५ जिल्लामा निर्वाचन हुनेछ । दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मिति यही कात्तिक १६ गतेका लागि तय गरिएको छ

विशेष