राजतन्त्र पुनःस्थापनाको दिवा सपना
केदारनाथ नेपाल
असोज महिनाको पेरीफेरीमा राजनीतिक वृत्तमा दुईवटा बिषयले चर्चा पाए । पहिलो बाम एकता र दोश्रो पुर्व राजाले नेतृत्व लिने । दुवै राजनीतिक बिषयसँग सम्बन्धित भएको कारण त्यसले समाजलाई प्रभावित नपार्ने कुरै भएन । यि दुई बिषयले राजनीतिलाई नै तरङ्गित मात्र बनाएन राजनीतिक वृत्तमा भुँईचालो समेत ल्याईदियो ।
अहिलेको अवस्था हेर्दा बाम एकताले निर्वाचनलाई पुर्णरुपमा प्रभावित पार्ने मात्र होईन, त्यसभित्र घात–प्रतिघात नभएमा गठबन्धनको पक्षमा दुई तिहाई मत आउने प्रष्टै देखिन्छ । दलहरुले निर्वाचनलाई प्रभाव पार्न अहिले देखिनै बिभिन्न प्रयोग गरेको हामिले देख्न सक्छौ । अझ त्यो सँगै अर्को रोचक दृश्य देख्ने दिन आउदै छ । सिनेमामा झै नायक र खलनायकले नायिकालाई आफ्नो बनाउन अनेकौ षड्यंत्र गरेझै चुनावको नतिजालाई आफ्नो पक्षमा ठाउँमा पार्न बाम गठबन्धन र लोकतान्त्रिक गठबंधनबाट अनेकौ हतकण्ठा प्रयोग गरेको हामीले प्रत्यक्ष देख्न पाउछौ ।
अर्को बिषय तिहारको समय पारेर पुर्व राजाले पनि बोले । मुलुकले नेतृत्व पाएन अब “जनताले चाहे म नेतृत्व लिन तयार छु“ । उनले राजनीतिक दलहरुलाई घुमाउरो भाषाबाट असक्षम दाबि गरेरै उक्त भनाई सञ्चारमाध्यममा राखेका थिए । आखिर जे बोलेपनि आफुलाई पूर्वराजाको हैसियतमै राखेर बोलेका थिए । शिशु गणतान्त्रिक नेपालमा उक्त बिषयले पनि चर्चा नै पायो ।
नेताहरु बेला बेलामा बोलिरहन्छन् जनताको बलमा आएको परिवर्तन साँच्चै स्थायी हुन्छ । तर, त्यसो भनिरहदा उनिहरुले एउटा कुरा हेक्का राख्दैनन् र पुर्व राजाले दुई शब्द बोल्ने बित्तिकै भयभीत भैहाल्छन् । भयभीत हुनुको पनि एउटा कारण छ । देश लोकतांत्रिक गणतन्त्रमा प्रवेश गरेपश्चात् देश र जनतालाई नेताहरुले के दिए ? राजनीतिक अस्थिरता , महंगी, भ्रष्टाचार, दलिय भागभण्डा, अराजकता त्यहि होईन ? अनि पूर्वराजाले राजनीतिको बारेमा दुई शब्द बोल्दा किन आपत्ति ?
यसो भनिरहदा पङ्तिकार राजतन्त्रको पक्षमा भने नरहेको स्पस्ट पार्न चाहन्छु । तर, ज्ञानेन्द्रलाई साँच्चै देश र जनताको माया र चिन्ता छ भने उनले आफुलाई पूर्वराजाको हैसियतमा होईन राजनीतिक दलको नेताको हैसियतमा रहेर निर्वाचन मार्फत जनताको मन जित्न जरुरी छ । त्यो अधिकार उनलाई संविधानले नै दिएको छ । तर, उनले आफुलाई पूर्वराजाकै हैसियतमा राखेर देशमा राजतन्त्र फर्काउछु भन्ने सोच्छन् भने उनको दिवा सपना मात्र होईन, मरेको मुर्दा मसान घाटबाट फर्केर घर आउनु जस्तै असम्भव पनि रहेको छ ।
विश्व इतिहासलाई हेर्दा केहि देशमा राजतन्त्र फर्किएको इतिहास पनि छ । इरानका राजा १८ वर्षपछि पुन सत्तामा फर्किए । स्पेनमा राजतन्त्र केहि समयपछि फर्कियो । बेलायतमा पनि फर्कियो । नेपालमा राजतन्त्र फर्कन सक्ने कुनैपनि गतिलो आधार छैन भन्ने आम जनताको बुझाई छ ।
लोकतन्त्रमा दलको विकल्प अर्को दल हुन्छ । नेपालमा धेरै दलहरु छन् । अब बिस्तारै तिन या चार दलमा सिमित हुने अवस्था आउदैछ भन्ने संकेत बाम र लोकतान्त्रिक गठबंधनको सुरुवातले गर्दैछ । त्यसकारण एउटा दलको विकल्पमा हामीले अर्को दल रोज्न सक्छौ तर, कदापि हामीले दलको बिकल्प राजतन्त्र रोज्न सक्दैनौ । राजतन्त्र अन्त्यको लागि आन्दोलनमा बगेको रगत बिर्सेको छैनौ, वाक् स्वतन्त्रता खोसिएको त्यो क्षण बिर्सिएका छैनौ । गणतन्त्रबादी हाम्रा दाजुभाईलाई आतङ्ककारीको बिल्ला भिराएर जेलमा कोचेको त्यो दिन बिर्सेका छैनौ ।
भोलि ज्ञानेन्द्रले राम्रो काम गरेर दलको नेतृत्व गरे भने जनताले उनलाई प्रधानमंत्री मान्नुपर्ने दिन नआउला भन्न सकिन्न किनकी राजनीति भनेकै सम्भावनाहरुको खेल हो । तर अहिलेको अवस्थामा राजतन्त्र पुन स्थापना दिवा सपना मात्र हो ।