समाज

विद्यालयको बस चलाउने चालकले अनिवार्य पोशाक लगाउनु पर्ने

विद्यालयको बस चलाउने चालकले अनिवार्य पोशाक लगाउनु पर्ने

काठमाडौँ । काठमाडौँ उपत्यकामा विद्यालयका बस चलाउने सवारी चालकले आगामी मंसिर १ गतेदेखि अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, प्याब्सन, एनप्याब्सन, हिसान, अभिभावक संघलगायत विभिन्न संघसंस्थाको महाशाखामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

महाशाखाका प्रहरी नायब उपरीक्षक बिपीन गौतमले विद्यालयका बस चलाउने चालक र सहचालक दुवै अनिवार्य रुपमा गाढा नीलो पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।

विद्यालयका सवारी साधनलाई चिन्न सहज हुनका लागि पहेँलो रङ बनाउनुपर्ने निर्णयसमेत भइसकेको बताए । प्रहरी नायब उपरीक्षक गौतमले विद्यालयका बसले पहेँलो रङ लगाएर नचलाएमा कडा कारबाही गरिने स्पष्ट पारे ।

यस्तै बैठकले उपत्यकाभित्रका सबै स्कूलमा ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई व्यापक रुपमा लैजाने निर्णयसमेत गरेको छ ।

विशेष