खेल

आतंकारीको निशानामा विश्वकप फुटबल, मेसीको आँखामा रगत बगेको फोटो सार्वजनिक

आतंकारीको निशानामा विश्वकप फुटबल, मेसीको आँखामा रगत बगेको फोटो सार्वजनिक

काठमाडौं । धार्मिक अतिवादी संगठन इश्लामिक स्टेट ‘आइएस’ले सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबललाई लिएर नयाँ पोस्टरमा चेतावनीयुक्त सन्देश सार्वजनिक गरेको छ ।

आगामी विश्वकप फुटबललाई लिएर ‘आइएस’ले अर्जेटिनाका महान फुटबल खेलाडी लियोनेल मेसीको आँखाबाट रगत आएको पोस्टरमा चेतावनीयुक्त सन्देश सार्वजनिक गरेको हो ।

उक्त पोष्टरमा आइएसले लेखेको छ, ‘तिमी एक यस्तो राज्यसँग लडिरहेका छौ, जसको शब्दकोशमा असफल शब्द नै छैन् ।’ उक्त चेतावनीयुक्त पोस्टर ‘आइएस’को मुखपत्र मानिएको ‘वफा मिडिया फाउन्डेशन’द्वारा जारी गरिएको हो ।

त्यस्तै, पोस्टरमा अंग्रेजी शब्द ‘जस्ट टेररिज्म’ लेखेर बाँकी अरवी भाषामासमेत लेखिएको छ ।

आइएसले सार्वजनिक गरेको प्रोपोगान्डामा मेसीको तस्वीर प्रयोग गरी उनको आँखाबाट रगत बगेको देखाइनु फुटबलप्रेमी र मेसीका समर्थकहरुका लागि दुखको बिषय भएको ‘मिरर अनलाइन’ले उल्लेख गरेको छ ।

‘एटल्यान्टिक प्यासिफिक’का वरिष्ठ सुरक्षा विशेषज्ञ इआन ब्रेजेजिन्स्कीका अनुसार उक्त पोष्टर आइएस समर्थक जिहादीहरुले टेलिग्राममार्फत शेयर गरिरहेका छन् । उनले आइएसले यस प्रोपोगान्डामार्फत रुस र अमेरिकामा आक्रमण गर्न विश्वकप फुटबल सुनौलो मौका बनाउन चाहेका बताएका छन् ।’

 

‘मिरर अनलाइन’का अनुसार यसअघि आइएसले जारी गरेको पोस्टरमा पनि फुटबल खेललाई नै निशाना बनाइएको थियो । उक्त पोस्टरमा रुस अल्लाहको दुश्मन भएको उल्लेख गर्दै लेखिएको थियो, ‘म कसम खान्छु की उनीहरुलाई जलाउनेछु ।’

आइएसको यस चेतावनी सार्वजनीक भएपछि रुसले विश्वकप आतंकवादबाट मुक्त हुने बताएको थियो । त्यस्तै, रुसको ‘नेशनल एन्टि टेररिज्म’ समितिले सुरक्षाको आवश्यक तयारी भैरहेको र सुरक्षित वातावरणमा खेल हुने बताएको छ । आगामी विश्वकप फुटबल सन् २०१८ को जुन १४ देखि जुलाई १५सम्म रुसको ११ ओटा शहरमा खेलिनेछ ।

विशेष