उदाउँदो सूर्यको पूजा गर्दै छठको समापन, आज सार्वजनिक विदा
काठमाडाै । तराई क्षेत्रमा विशेष महत्व र उल्लासका साथ मनाइने छठ पर्व आज सकिँदै छ । उदाउँदो सूर्यको पूजा गर्दै छठ पर्वको समापन गरिँदै छ ।छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराइका विभिन्न जिल्लामा भक्तजनहरु रातभर नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका छन् ।
छठको तेस्रो तथा मूख्य दिन हिजो अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिइयो । काठमाडौंमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरे ।
राष्ट्रपति विद्यादेवी भण्डारी पनि कमलपोखरी पुगेर छठ पूजामा सहभागी भइन् ।
उता, जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा ब्रतालुहरुको घुईचो लाग्यो । दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरे । वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको उत्तिकै रमझम रह्यो ।
छठको उल्लास नवलपरासीमा पनि कम्ति थिएन । परासीसंँगै उनवच, त्रिवेणी, नवलपुर क्षेत्रलगायतका नदी र तालहरुमा पनि पूजाआजाका लागि भक्तजन एकत्रित भए । उता, झापाको मेची नदी, विरीङ, मावा, रतुवा, निन्दालगायतका नदी किनारमा पनि भक्तजन भेला भएर पूजा आराधना गरेका छन् ।
सप्तरीको कोशी व्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर, हनुमाननगर, बीरेन्द्रबजार, सीतापुर, महुली, रुपनी, बर्साइन, पातो, कल्याणपुर, कडरबोना, मानराजा, सखडा, सदरमुकाम राजविराजसहितका स्थानहरुमा पनि उत्तिकै उल्लासले यो पर्व मनाईयो । कोशीव्यारेजमा भारतको पूर्णिया, फारबिसगञ्ज, राजपुरसहित स्थानबाट छठ मनाउन सयौं ब्रतालु आएका छन् ।
यता, सिन्धुली जिल्लाका केही स्थानमा छठ मधेशी र पहाडिया समुदाय एकापसमा मिलेर मनाइका छन् । भित्री मधेशमा पर्ने सदरमुकाम सिन्धुलीमाडीको स्थानीय गौमती नदीको किनारमा मधेशी र पहाडिया समुदायले मिलेर सजिया घाट निर्माण गरी छठ पूजा गरेका हुन् ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ ।
आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको बनाउन भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग यस पर्वसँग जोडिएको छ ।
त्यसैगरी महाभारतकालमा द्रौपदीसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।
सरकारले छठ पर्वका अवसरमा अाज पनि बिदा दिने भएको छ ।
यसअघि एक दिन मात्र बिदा दिने गरिआएकामा यस वर्षदेखि एक दिन थप गरी बिहीबार र शुक्रबार मुलुकभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।