समाज

भेडीखर्के साइलाको सम्झनामा ठाडोभाका गीत प्रतियोगिता

भेडीखर्के साइलाको सम्झनामा ठाडोभाका गीत प्रतियोगिता

लमजुङ । नागरिकबाट ‘ठाडोभाका शिरोमणि’ उपाधी प्राप्त गरेका स्वर्गिय भेँडीखर्के साइँला अर्थात दीर्घराज अधिकारीको सम्झनामा लमजुङमा एकदिने खुला राष्ट्रव्यापी ठाडोभाका गीत प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिता भेँडीखर्केको ४५ औँ दिनको अवसर पारेर आयोजना गरिएको हो ।

नेपाल पूर्व प्रहरी संगठन लमजुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङको आयोजना, ठाडो भाका लोककला प्रतिष्ठान नेपाल, लमजुङ र ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको सहआयोजनामा प्रतियोगिता भएको हो ।

प्रतियोगितामा लमजुङ, तनहुँ, गोरखाका गरी २६ समूहको सहभागिता रहेको थियो । मौलिक भेषभूषामा सजिएर आएका प्रतियोगिताका सहभागिहरुले भेँडखिर्के साइँलाको सम्झनामा ठाडोभाका प्रस्तुत गरेका थिए । ठाडो भाकाको संरक्षणमा भेंडीखर्के साइँलाले आफ्नो जीवन नै अर्पण गरेकाले उनको योगदानलाई कसैले भुल्न नहुने र मौलिक ठाडो भाका जोगाउन सबै लाग्नुपर्ने भाव समेटेर प्रतियोगिहरुले ठाडोभाका प्रस्तुत गरेका थिए ।

नेपाल पुर्व प्रहरी संगठन लमजुङका अध्यक्ष कुलबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा सिभिल बैंकका कार्यकारी प्रमुख गोविन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै सुन्दरबजार नगरपालिकाको मेयर जनकराज मिश्र, नेपाल पूर्व प्रहरी संगठनका केन्द्रीय सदस्य वीरसिंह घले, स्थानीय समाजसेवी धु्वबहादुर कुवँर, राजधानी गुरुङ समितिका अध्यक्ष हरि गुरुङ लगायत कलासँस्कृति प्रेमीहरुले ठाडो भाकाका अथक साधक भेँडीखर्के साइँलाको निधनले लोक साँगितिक क्षेत्रमा अतुलनीय क्षति पुगेको र अब यसलाई जोगाउने जिम्मा नयाँ पुस्तालाई आएको धारणा राखेका थिए ।

प्रतियोगितामा प्रथम हुने समूहले प्रमाणपत्रको साथमा नगद २० हजार, द्धितिय हुनेले नगद १५ हजार, प्रमाणपत्र, तृतीय हुनेले नगद १० हजार, प्रमाणपत्र, सान्त्वना हुनेले नगद ५ हजार र प्रमाणपत्र पाएका छन् ।

उत्कृष्ट ठाडो भाका समूहलाई नगद ३ हजार र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । ठाडोभाका लमजुङसहित गोरखा, तनहुँ, कास्कीमा गुन्जने लोपोन्मुख भाका हो । ठाडो भाकाका पिता बांग्रे हाँडीखोलाका देउबहादुर दुरा र कास्कीका पञ्चसुब्बा गुरुङलाई मानिएको छ ।

विशेष