ट्राफिक इन्स्पेक्टरको बयान: दिनहुँ सयौंलाई कारबाही गर्नुपर्दा दुःख लाग्छ (भिडियोसहित)
काठमाडौं । ‘बाटोमा दिनहुँ सयौं सवारी चालक समातिन्छन् । त्यसरी करबाही गर्न हामीलाई कुनै रहर हुँदैन । मानवीय नाताले हामीमा पनि दया र भावना हुन्छ । तर, के गर्नु ट्राफिक प्रहरी परियो । कारबाही गर्नैपर्यो । साह्रै दुःख लाग्छ त्यसरी नचाहेर पनि कारवाही गर्नुपर्दा ।’ थापाथलीकी ट्राफिक प्रहरी निरीक्षक रुपा लबुङले सडकमा हुने कारवाहीबारे भनिन् ।
प्रहरीमा सात वर्ष काम गरिसकेकी उनी दुई वर्षयता थापाथलीमा ट्राफिक प्रहरी निरीक्षक रहेर सेवा गर्दै आएकी छिन् । भर्खरै नेपालीहरुको महान चाड दशैं तिहारले विश्राम पायो । काठमाडौंमा मानिसहरुको घुइँचो सुरु हुन थालेको छ । तर, प्रहरीलाई के दशैं के तिहार ? दिन रात नभनी नागरिकलाई सेवा दिँदैमा फुर्सद हुँदैन । जे भएपनि मन न हो । दशैं तिहारको समयमा घर परिवारबाट टाढा रहेर काम गर्दा मन त कड्किन्छ नै ।
झापाकी रैथाने लबुङले घर परिवारसँग बसेर दशैँ तिहार नमनाएको ६ वर्ष जति भइसक्यो । ‘दशैंको टीका अफिसमै ठूलाबडाबाट थापिन्छ । काठमाडौं बाहिर हुँदा दशैं मनाउन नपाएर त्यत्ति दुःख लाग्दैन । तर, काठमाडौंमा भइयो भने खाली सडक देखेर घरको साह्रै न्यास्रो लाग्छ,’ उनले सुनाइन् ।
प्रहरीमा जागिर खाने क्रममा नै उनीहरुले आफ्नो व्यक्तिगत जीवनलाई माया मार्ने कुरालाई सहर्ष स्वीकार गरिसकेका हुन्छन् । त्यसैले घरपरिवारलाई समय दिन नपाउनु र चाडबाडमा परिवारको साथमा नहुनु भनेको उनीहरुका लागि सामान्य कुरा हो ।
महिला प्रहरीलाई दुव्र्यवहार कत्तिको हुन्छ त ? भन्ने जिज्ञासामा रुपा भन्छिन्, ‘अहिलेसम्म देखिने गरी या प्रत्यक्ष रुपमा हामीलाई कसैले दुव्र्यवहार गरेको छैन । अब भित्री रुपमा गर्नुहुन्छ भने भिन्नै कुरा । बाटोमा कतिले कहिलेकाहीं के छ भनेर सोध्दै हिँड्नु हुन्छ । त्यस्तोलाई दुव्र्यवहार पनि भन्न मिलेन ।’
तर, कहिलेकाहीं हाँस्न बाध्य भइदिने घटना पनि हुन्छन् सडकमा । एकपटक त्यस्तै भयो । एकजना युवकलाई ट्राफिकले कारवाही गरेपछि उनी रिसले आगो भएछन् । रिसको झोंकमा ती युवकले स्कुटरबीच बाटोमा राखेर बाटो नै बन्द गर्ने भन्दै अड्डी कस्न थालेछन् । पछि निकै बेर सम्झाएपछि ती युवक आफ्नो बाटो लागेको उनले बताइन् ।
ट्राफिकले कारवाही कडा गर्नु चालक आफैंमा पनि भर पर्ने उनले बताइन् । ‘हामी त्यस्सै त्यत्ति धेरै कडा कहाँ हुन्छौं र ? जान अन्जानमा गल्ती हुन्छ । कतिपयले नम्र भएर कुरा गर्दा हामी छाडिदिन्छौं पनि । तर, अनावश्यक रुपमा कराउँदा र झगडा गर्न आउनेहरु पनि हुन्छन् ।’
दिनभरि सडकमा बसेर काम गर्ने ट्राफिक प्रहरीलाई अहिलेसम्म शौचालयको उचित व्यवस्था पनि हुन सकेको छैन । सार्वजनिक शौचालय नहुँदा उनीहरु कहिले कसैको अफिसमा त कहिले कता जान बाध्य छन् । त्यस्तैगरी खानेपानीको पनि उचित व्यवस्था नभएको उनले जिकिर गरिन् । सडकमा लेन बनाउने, जेब्रा क्रसिङ बनाउने काम सडक विभागको हो । ट्राफिक बत्ती, लेन, जेब्रा क्र्रसिङ र आकाशे पुलजस्ता भौतिक सुविधाहरु नहुँदा उनीहरुलाई पनि काम गर्न अप्ठेरो भइरहेको उनले सुनाइन् ।
जरिवानाको हकमा नेपालमा अन्य देशको तुलनामा निकै कम जरिवाना भएको उनले उल्लेख गरिन् । मानिसहरुले अझ जम्मा पाँच सय रुपैयाँ त हो नि भन्दै पटक पटक ट्राफिक नियम तोड्ने गरेको उनको गुनासो थियो । केही समयअघि जथाभावी बाटो काट्नेलाई दुई सय रुपैयाँ जरिवाना लगाउने नियम खुब चर्चामा रह्यो ।
सबैलाई सान्दर्भिक नभएपछि त्यो व्यवस्था पनि हट्यो । तर, केही समय भएपनि त्यो व्यवस्था लागू गरेकाले धेरै मानिसमा चेतना फैलिएको र जथाभावी बाटो काट्ने निकै कम भएको उनले जिकिर गरिन् । किनभने सडक दुर्घटनामा जति सवारी चालक जिम्मेवार हुन्छन् त्यति पैदल यात्री पनि हुन्छन् ।
केही सेकेण्डको लापरवाहीले धेरै दुर्घटना हुन्छन् । यो भनिरहँदा उनको एउटै भनाइ थियो, ‘सवारी चालक या पैदलयात्रीमात्र होइन हामी सबैमा धेरै हतार गर्ने बानी छ । त्यस्तो नगरौं । केही छिन कुर्नुपर्दा ज्यान जोगिन्छ भने एक मिनेटको हतार गर्ने किन ?’
प्रस्तुती: कन्चन न्यौपाने
Rupa Labung