भोजपुर कम्युनिष्टको लालकिल्ला हो, जित्ने आशामा कांग्रेसले धेरै खर्च नगरे हुन्छ
कृपाशुर शेर्पा, नेता नेकपा एमाले
वाम तालमेलपछि दुवै पार्टीका कार्यकर्ताहरुलाई भोजपुरमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । २१ गतेसम्म कार्यकर्ता उत्प्रेरित गर्ने कार्यक्रम छ । त्यसपछि २३ गतेदेखि आमसभा हुनेछ । भोजपुरमा दुई निर्वाचन क्षेत्र यसपटक मर्ज भएर एउटै कायम भएको छ । भोजपुरबाट प्रतिनिधि सभामा एक प्रदेश सभाका लागि दुई सिट कायम भएको छ ।
स्थानीय तहमा प्राप्त मतलाई आधार मान्ने हो भने वाम तालमेल धेरै बलियो देखिन्छ । जसअनुसार एमालेले २५ हजार ५ सय हाराहारीमा मत ल्याएको थियो । २१ हजार ५ सय जति नेपाली कांग्रेसको र साढे १२ हजार जति माओवादीको थियो । अब माओवादी पनि एमालेमा मिसिदा वाम गठबन्धनको मत हुन्छ ३८ हजार जति । यस हिसाबले त चुनाव वाम गठबन्धनको पक्षमा जानु पर्ने हो ।
भोजपुरमा वाम गठबन्धनको प्रतिस्पर्धा मूलतः नेपाली कांग्रेससँग नै हो । कांग्रेसका रमेशजंग रायमाझी प्रतिनिधिसभामा चुनाव लड्दै छन् । रायमाझीसँग वामगठबन्धनका तर्फबाट माओवादीका सुदन किराँती लड्दै छन् । प्रदेशमा भने एमालेका शेरधन राई, राजेन्द्र राई चुनाव लड्दै हुनुहुन्छ ।
जहाँसम्म खर्चिलो चुनावको सवाल छ, हामी कम्युनिष्टको स्कुलिङका कारण धेरै खर्चिलो हुँदैन । कालो चियामा बिस्कुट चोबेर खाएर पनि हामी प्रचारमा जान्छौं । कांग्रेसका कार्यकर्ताहरु भनेको खसीको ह्याकुला र कुखुराको साँप्रा नखाई हिँडदैनन् ।
भोजपुर भनेको कम्युनिष्टहरुकै बलियो भएको स्थान हो । ६४ सालमा माओवादीले जित्यो । नत्र एमालेले जित्दै आएको स्थान हो । भोजपुरमा कांग्रेसले कहिले पनि जितेको छैन । यसपटक पनि कांग्रेसले जित्दैन ।
भोजपुरमा एमालेले जे जति गर्यो त्यो पर्याप्त छैन । नौ नौ महिनाको सरकार भएर विकास पनि प्रभावित भयो । अब यसपटक वाम गठबन्धनको स्पष्ट बहुमत आउछ । पाँच वर्षे शासन सुरु हुन्छ । अनि विकासले पनि गति लिनेछ ।
यसपटक मैले टिकट पाइन । जनतामा म लोकप्रिय छु । तर पनि दुई दलको गठबन्धन हुँदा मैले टिकट पाइन । तर पनि म एमालेकै कारण सांसद भए, मन्त्री पनि भए । एमालेले मलाई सबै कुरा दिएकै छ । मलाई कुनै गुनासो छैन । आफूले टिकट नपाए पनि यसपटक चुनावमा म मन वचन र कर्मले आफ्नालाई जिताउन आएको हुँ । जिताएरै मात्रै फर्किन्छु पनि । देखावटी मात्रै सहयोग गर्ने भएको भए म भोजपुर आउने पनि थिइनँ ।
माओवादीसँग पार्टीले मिल्ने नीति त लियो, तर प्रचण्डले धोका दिदैनन भन्ने के ग्यारेन्टी भनेर पनि चर्चा हुने गरेको छ । विगतका घटनाले त्यो देखाउँछ पनि । तर पटक पटकको हन्डर पछि बुझेरै विश्वासको वातावरण बनेरै दुई पार्टी बीचको तालमेल सम्भव भएको हो । यस्तो तालमेलले अब बहुमत र राजनीतिक स्थीरता दिने कुरामा म विश्वस्त छु ।
जहाँसम्म बाबुराम भट्टराईले गठबन्धन छाड्नु भएको कुरा छ त्यो उहाँ अरु कसैको इशारामा लागेर छाड्नु भएको हो । बार्गेनिङमा कुरा नमिलेर होइन । किनभने पार्टी नै एक हुने भएपछि के को बार्गेनिङ ? एमालेको जित पनि उहाँकै जित हुने थियो । तर उहाँलाई अरुले इशारा गरिदियो उहाँले पनि छाडिदिनु भयो गठबन्धन ।
(मंसिर १० को चुनावको तयारीका लागि भोजपुर पुगेका पूर्वमन्त्री कृपासुर शेर्पासँग भएको कुराकानीमा आधारित ।)