मुख्य समाचार

आज हरिबोधिनी एकादशी, यस्तो छ महत्त्व

आज हरिबोधिनी एकादशी, यस्तो छ महत्त्व

काठमाडौं ।  हरिबोधिनी एकादशी अर्थात् ठूलो एकादशी। चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशी हरिशयनीको दिन आँगनमा रोपिएको तुलसीको विवाह गर्ने पर्वको रूपमा यस दिनको महत्त्व छ ।

विशेषगरी वैष्णवहरूले यो पर्व धुमधामका साथ मनाउँछन्। भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजनसँगै नवान्न नयाँ अन्नको हवन गरी चतुर्मासभरि विष्णु वा विष्णुप्रियाको रूपमा पूजा गरिएको तुलसीको पूजा विसर्जन गरिन्छ ।

पौराणिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान् विष्णु यसैदिन उठ्छन्। त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पं.बालमुकुन्द देवकोटा बताउँछन् । ‘विष्णुको अर्को नाम हरि हो । शयनी अर्थात् सुत्ने । बोधिनीको अर्थ हुन्छ उठ्ने’, उनी भन्छन्, यसैले यी दुई एकादशीको महत्त्व विशेष छ । ’विष्णुको सुत्ने दिन’ भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा यो दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने उल्लेख छ ।

यो दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताएका छन् । कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ । यो अवधिभर नेपालको प्रसिद्ध तीर्थस्थल वराहक्षेत्रमा मेला लाग्छ । भीष्मपञ्चकभरि भगवान् विष्णुको आराधना गर्नाले मनोकांक्षा पूर्ण हुने विश्वासका साथ काठमाडौं उपत्यकाका चार नारायण चाँगु, विशंखु, इचंगु र शेष० लगायत बुढानीलकण्ठमा समेत भक्तजनको मेला लाग्छ ।

विशेष