सीमा रक्षक देवनारायणलाई छुटाउने प्रक्रिया सुरु
सप्तरी । कोइलाडी तिलाठी गाउँपालिका–२ का सीमा बचाउ अभियानका अगुवा देवनारायण यादव र उनका छोरा अजयकुमार यादवलाई छुटाउन सप्तरी प्रशासनले प्रक्रिया सुरु गरेका छन् ।
भारतको सुपौलजिल्लास्थित कुनौली थानामा मंगलवार भारतीय र नेपालका अधिकारीहरुबीच छलफल गरी छोटोरुपमा कानूनी प्रक्रिया पूरा गरी देवनारायण र उनका छोरालाई छुटाउने प्रक्रिया सुरु गरिएको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले आफू भारतको कुनौली थाना पुगेर सुपौलको सुरक्षा अधिकारीसँग कुरा गरेर देवनारायण र उनको छोरालाई छुटाउने प्रक्रिया सुरु गरेको बताए ।
‘कुनौली थानामा आफै पुगेर प्रतिबेदन तयार गराएर आएकोले बुधवारसम्ममा देवनारायण छुट्नेछन,’ उनले भने, ‘उनको छोराको रिहाईमा केही समय लाग्न सक्छ ।’ तर दुबै जनालाई छिटो भन्दा छिटो छुटाउन ज्योती कुमारीको आफन्तलाई भेटेर उनको उमेरको प्रमाण थानामा बुझाएको उनले बताए ।
ज्योती कुमारीको आधार कार्डबाट उनको उमेर १८ बर्षभन्दा बढी रहेकोले उनीहरुलाई छुटाउन सहज भएको प्रजिअ पाण्डेले बताए । भारतीय सुरक्षाअधिकारीले ज्योतीको बयानपछि छुटाउन सहज हुने भनेकाले मंगलबार ज्योतीलाई बीरपुर न्यायालय पठाइएको उनले बताए ।
प्रजिअ पाण्डेले देवनारायण र उनका छोरा अजयलाई मंगलवार भारतको बीरपुर न्यायालयमा हाजिर गराएको बताए ।
कान्तिपुर दैनिकबाट