अन्तरवार्ता भिडियो इतिहास र अनुभूति

प्रचण्डसँग मिलेर एमाले सक्किने भयो (भिडियोसहित)

प्रचण्डसँग मिलेर एमाले सक्किने भयो (भिडियोसहित)

‘इतिहास र अनुभूति’ स्तम्भका स्तम्भकार डा.सुरेन्द्र केसीले हालको नेकपा एमाले,नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीचको चुनावी तालमेल एवं पार्टी एकता प्रक्रियालाई अपरादर्शी, अवाञ्छित र अस्वभाविक बताउनु भएको छ । विशेषतः नेपालका कम्युनिष्ट पार्टीहरुबारे गहन अध्ययन गर्नु भएका डा. केसीले हालको वाम एक प्रक्रियालाई कृत्रिम बताइरहनु भएको छ । डा. केसीका मूलभूत धारणाहरु निम्नानुसार छन्:

‘माओवादीको कांग्रेससँग भएको गठबन्धन लामो समय चल्ने बताइएको थियो । दुई महिनामै धरापमा पर्यो । प्रचण्डले ओलीलाई समाते, लगत्तै शेरबहादुरलाई समाते । अहिले देउवाको सरकारमा बसेकै बेला प्रतिपक्षी एमालेसँग गठबन्धन गरेका छन् । लोकतन्त्रमा यहाँ भन्दा लाजमर्दो के होला ? १५ दिन अघिसम्म पनि एमालेलाई सिध्याउन कांग्रेससँग मिल्नु परेको प्रचण्डले भन्ने गरेका थिए । तर उनी त भित्र भित्रै कांग्रेस सिध्याउन पो लागेका रहेछन् । कति चाँडो कित्ता फेर्छन् प्रचण्ड ।

यो प्रक्रियाले तत्काल सरकारमा असर पार्छ । अलि पछि कांग्रेसले पनि गठबन्धन बनाउँछ । वाम–कांग दुई समूह बन्ने भयो । तत्कालका लागि भने माओवादी र कांग्रेसको सम्बन्ध बिग्रने निश्चित छ । अहिलेको वाम गठबन्धनको प्रक्रिया स्वाभाविक छैन । यो दिगो पनि हुँदैन । दिगो हुन बाबुरामले नै दिँदैनन् । यो प्रक्रियामा बाबुरामलाई किन मिसाइएको हो मैले बुझ्न सकेको छैन । बाबुराम भन्दा पनि जात मिल्ने त सिपी मैनाली थिए । चित्रबहादुर केसी, नारायणमान विजुक्छे, विष्णुबहादुर मानन्धर, उपेन्द्र यादव, अशोक राईलगायत थिए । तर एमाले र माओवादीले बाबुरामलाई टिपे । किन टिपे रहस्यमय छ ।

पार्टीहरुबीच सहकार्य, एकता हुनु अनौठो भएन । तर अहिलेको एकताको कुरा राष्ट्रहितका लागिभन्दा पनि स्वार्थहितकालागि भएको देखिन्छ । यसमा देश, जनता र सबैको हित जोडिएको छैन । यसमा जोडिएको भनेको नेताहरुको स्वार्थ हो ।

राजनीतिक घटनाहरुको कारक बाहिरी भन्दा भित्री विषय महत्वपूर्ण हुन्छ । नेपालको इतिहास हेर्दा पनि कतिपय अवस्थामा बाहिरीको भूमिकाले पटकपटक काम गरेको छ । डा. केआइ सिंह नै तिब्बत हुँदै चीनको शरणमा गएका थिए । अरुले पनि भारतलाई आफ्नो रणनीतिक पार्टनर बनाए । केहीले यो काम चीनको दबाबमा भएको हो भन्छन् । बाबुराम पनि यसमा सहभागी भएका कारण यो काम भारतको हो जस्तो पनि लाग्छ ।

अहिलेको एकता प्रयासले घाटा एमालेलाई हुन सक्छ । प्रचण्डको विगतका क्रियाकलापले पनि त्यस्तै पुष्टि गर्छ । ओलीसँग हुँदाहुँदै उनकै सरकार ढाले । आफू प्रधानमन्त्री बने । देउवाको काँध चढेर प्रधानमन्त्री बने तर लोकमान प्रकरणमा एमालेसँग मिले । देउवालाई सघारहेको बेला एमालेसँग एकता नै गर्न अगाडि बढे । यस्ता कामले उनले एमाले सिध्याउने त हैनन ? भन्ने शंका छ ।’

विशेष