इतिहासमा आज

गणेशमान सिंहको १०२ औं जन्मजयन्ती

गणेशमान सिंहको १०२ औं जन्मजयन्ती

सर्वोच्च नेता गणेशमान सिंहको १०२ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाईदै छ ।

जन्मजयन्तीका अवसरमा गणेशमान सिंह फाउन्डेसनले आज काठमाडौंको शोभाभगवतीस्थित सिंहको शालिकमा माल्यार्पण कार्यक्रम आयोजना गरेको छ । यसका साथै नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष गणेशमान सिंहको १०२ औं जन्मजयन्ती, नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

सुब्बा ज्ञानमान सिंह र सुभद्रा कुमारीका जेठो छोराको रुपमा विसं १९७२ साल कात्तिक २४ गते काठमाडौंको यट्खामा सिंहको जन्म भएको थियो । नेपालमा प्रजातन्त्र स्थापना गर्न राणाकालदेखि नै संघर्ष गर्नुभएका सिंह २०४६ सालको जनआन्दोलनको कमान्डर थिए । राणा शासनविरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार, २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रमाथि गरेको ‘कू’, सबै सुख–दुःखमा विपी कोइराला र गणेशमान सँगै थिए । २०५४ साल असोज २ गते निधन भएका सिंह नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय थिए ।

सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए। भद्रगोल जेल फोरी भागेका जोशिला तन्नेरी गणेशमान प्रबास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसकेका थिए। भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित हुनासाथ अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको छ।

२००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए। संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुर्नबहाली लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला र्समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहे। पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्षनिरन्तर काराबास भोगे। त्यसपछि पुनः प्रबासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्टिूय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका बिरूद्ध सक्रिय रहे।

तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए। १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका र्सवप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो। राष्टिूय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायत बिरूद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए।

विशेष