समाज

महान रिक्सा चालक आफ्नो परिवारको गाँस काटेर यसरी गरे धुर्मुस सुन्तली सहयोग

महान रिक्सा चालक आफ्नो परिवारको गाँस काटेर यसरी गरे धुर्मुस सुन्तली सहयोग

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रौतहटको चन्द्रपुुर नगरपालिका रहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि स्थानिय रिक्सा चालकले सहयोग दिएका छन् । रिक्सा चलाएर आफ्नो परिवार धान्दै आएका उनले फाउण्डेशनलाई पाँच बोरा सिमेन्ट सहयोग प्रदान गरेका हुन् ।

दैनिक तातो घाममा रिक्सा चलाएर पाँच जनाको परिवार पाल्ने केदार प्रसाद तिमल्सिना रौतहट जिल्ला चन्द्रपुर नगरपालिका स्थित बसोवास गर्छन् । रिक्सा चलाएर दैनिकी गुजारिरहेको तिमल्सिना आफैंमा राहतका भागिदार समेत हुन् । प्रत्येक दिन बिहान घरबाट रिक्सा लिएर निस्किएपछि राती अबेरसम्म चलाएर कमाउने पैसाले घर ब्यवहार धान्दै आएका उनको पारिवारीक र आर्थिक स्थिती कस्तो होला, हामी कल्पना गरौं ।

रौतहटमा बन्ने एकीकृत नमुना बस्ती निर्माणका लागि पाँच बोरा सिमेन्ट लिएर फाउण्डेशनको निर्माणाधिन बस्तीमै पुगेका तिमल्सिनाको अनुहारमा एकप्रकारको खुसी देखिन्थ्यो । उनले आफुले सकेको सहयोग गरे र एउटा उदाहरण पनि बनेका छन् । ‘सहयोग मनले गर्नुपर्छ’ राहत हस्तान्तरण गदैं उनि भन्दै थिए ‘धुर्मुस सुन्तलीलाई सहयोग गर्न पाउनु आफैंमा गर्वको कुरा हो र मैले यो अवसर पाएको छु, सकेको सहयोग सधैं गर्नेछु ।’ उनले यसो भनिरहँदा धुर्मुसको आँखा रसायो ।

तिमल्सिनाले दिएको सहयोग पछि धुर्मुसले आफ्नै फेसबुक मार्फत उनलाई धन्यवाद सहितको स्ट्याटस पोष्ट गरे । धुर्मुसले उनलाई सलाम भन्दै सधै खुसी र सुखी रहनु भन्दै शुभकामना समेत दिएका छन् ।

विशेष