समाज

सात वर्ष साउदी बसेकी सुनिताको कमाइः ‘मानसिक रोग’

सात वर्ष साउदी बसेकी सुनिताको कमाइः ‘मानसिक रोग’

झापा । वैदेशिक रोजगारमा गएर सुन्दर भविष्य निर्माण गर्ने योजनाका साथ दैनिक सयौँ युवा विदेशिने गरेका छन् ।

तर, सबैको सपना पूरा हुन्छ भन्ने छैन । कोही राम्रै दाम लिएर आउँछन्, त कोही रोगिएर थिलथिलो शरीर लिएर भने कोही बाकसमा ।

यस्तै, सुन्दर भविष्यको खोजीमा सात वर्षअघि साउदी अबर पुगेकी बिर्तामोड नगरपालिका–८ गरामनीकी सुनिता गामी मानसिक रोगी भएर फर्किएकी छन् ।

सात वर्षअघि घरेलु कामदारका रुपमा भारतीय बाटो हुँदै साउदी पुगेकी सुनिता गत वैशाखमा नेपाल फर्किएकी हुन् । घरमालिकको शारीरिक र मानसिक यातनाले हाल उनी विक्षिप्त अवस्थामा रहेकी छन् ।

स्थानीय मंगलु राजवंशीले सम्पर्क गराएपछि झापा धाइजनका अभिषेक धिमालले सुनितालाई भारतको बाटो हुँदै साउदी पठाएको श्रीमान् नारायण गामीले जानकारी दिए ।

“साउदी पुगेको एक महिनापछि सुनिताले फोन गरेकी थिई”, नारायणले भने, “त्यसयता सम्पर्क हुन सकेन ।” सुनितालाई साउदी पठाउने धिमाल हाल सम्पर्कविहीन छन् । सात वर्षपछि सदस्य घर फर्किंदा खुसी भए पनि सुनिताको अवस्थाले परिवार चिन्तामा छ ।

“छोरा पढाउने र घर बनाउने सपना थियो”, नारायणले भने, “पैसा कमाउनु त टाढाको कुरा श्रीमतीको यस्तो हालत भयो ।” हाल सुनिताको उपचार भइरहेको उनले बताए ।

विशेष