प्रथम रामधुनी गोल्डकप शुरु
इटहरी । सुनसरी निर्वाचन क्षेत्र नं ४ का नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले खेलाडीहरू राष्ट्रलाई एकआपसमा जोड्ने महत्वपूर्ण माध्यम भएको बताएका छन् ।
रामधुनी सिक्दार माझी टोल सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको प्रथम रामधुनी गोल्डकप नकआउट पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै मन्त्री कार्कीले राज्यले खेलाडीहरूको विकासमा यथेष्ट सहयोगको नीति लिन जरुरी रहेको उल्लेख गरे । उनले सुनसरीको निर्वाचन क्षेत्र ४ मा चुनाव जितेको खण्डमा राष्ट्रियस्तरको खेल मैदान बनाउन पहल गर्ने वचनसमेत दिए ।
अर्थमन्त्री कार्कीले देशको समग्र विकासका लागि लोकतन्त्रवादी शक्तिले निर्वाचन जित्नु आवश्यक भएको दाबी गरे । प्रतियोगितामा पूर्वाञ्चलका आठ टोलीको सहभागिता रहेको छ । मल्टि सोलुसन कन्स्ट्रक्सन कम्पनी काठमाडाैँको प्रायोजन रहेको उक्त प्रतियोगिताका विजेताले रु एक लाख एक हजार र उपविजेताले रु ५१ हजार प्राप्त गर्नेछन् ।
nepali football