मुख्य समाचार

मतगणना एकैपटक गर्ने आयोगको तयारी

मतगणना एकैपटक गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवार र मतदातामा निकै उत्साह थपिएको छ । पहिलो चरणको निर्वाचनका लागि अब दुई सातामात्र बाँकी छ । पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मङ्सिर १० गते निर्वाचन हुने भए पनि त्यसको मतपरिणाम थाहा पाउन भने उम्मेदवार र मतदाताले दोस्रो चरणको निर्वाचन सम्पन्न हुँदासम्म पर्खनुपर्नेछ ।

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचन मङ्सिर २१ गते सम्पन्न भएर सबै मतपेटिका सङ्कलन भएपछि मात्र मतगणना गर्ने तयारी गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले बताउनुभयो । दोस्रो चरणमा हुने मतदानलाई प्रभावित गर्न सक्ने भएकाले दुवै चरणको मतगणना एकैपटक गर्ने निर्णय आयोगले गरेको हो ।

पहिलो चरणको मतदानपछि मतपेटिकालाई जिल्ला निर्वाचनको कार्यालयमा ल्याएर सुरक्षित गरिने तयारी आयोगले गरेको छ । मतपेटिकाको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा जिम्मा दिइने सहायक प्रवक्ता शर्माले बताउनुभयो । प्रत्यक्षतर्फको मतगणना गरेपछि मात्र समानुपातिकतर्फको मतगणना गर्ने योजना आयोगको छ । आजको गोरखापत्रमा खबर छ ।

विशेष