मुख्य समाचार

निर्वाचन आयोगले पर्यटन मन्त्री जितेन्द्र देवसँग माग्यो २४ घण्टे स्पष्टिकरण

निर्वाचन आयोगले पर्यटन मन्त्री जितेन्द्र देवसँग माग्यो २४ घण्टे स्पष्टिकरण


काठमाडौँ । निर्वाचन आयोगले सरकारी सवारी साधनको दुरूपयोग गरी सप्तरीस्थित सार्वजनिक विद्यालय परिसरमा आयोजित नेपाली काँग्रेसको चुनावीसभामा प्रमुख अतिथिका रूपमा सहभागी भई निर्वाचन आचारसंहिता उल्लंघन भएको जनाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत किन कारबाही नहुनुपर्ने हो भनी मन्त्री देवसँग २४ घण्टे स्पष्टीकरण माग गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगले काँग्रेस सप्तरीका सभापति एवं नेपाली काँग्रेसका तर्फबाट सप्तरी जिल्ला क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार दिनेशकुमार यादवलाई सार्वजनिक विद्यालय परिसरमा चुनावीसभा तथा भोजभतेरको आयोजना गरेको भनी २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्ने निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत किन कारबाही नहुनुपर्ने हो भनी यादवसँग स्पष्टीकरण माग गरिएको जनाइएको छ ।

सभापति यादवलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ, “निर्वाचन आचारसंहिता लागू भइरहेका अवस्थामा सार्वजनिक विद्यालय परिसरमा चुनावीसभा तथा भोजभतेर आयोजना गरिएको कार्य निर्वाचन आचारसंहिताविपरीत भएको देखिँदा निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत तपाईंलाई कारबाही किन नहुनुपर्ने हो ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरिन्छ ।”

आयोगले सप्तरीको खुरहुरियास्थित जनता माविका प्रअ सूर्यनारायण यादवलाई पनि सार्वजनिक विद्यालय परिसरमा चुनावीसभा तथा भोजभतेरको आयोजना गरिनु निर्वाचन आचारसंहिताविपरीत देखिएको जनाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको छ ।

विशेष