खेल

सर्वाधिक राशीको चन्द्रागिरि गोल्डकप कात्तिक २८ बाट हुने विजेताले ५ लाख पाउने

सर्वाधिक राशीको चन्द्रागिरि गोल्डकप कात्तिक २८ बाट हुने विजेताले ५ लाख पाउने

काठमाडौं । ‘ए’ डिभिजनस्तरीय फुटबल प्रतियोगिता चन्द्रागिरि गोल्डकपको पहिलो संस्करण कात्तिक २८ गतेदेखि राजधानीमा हुने भएको छ ।

नैकाप मैदानमा हुने प्रतियोगितामा सात ‘ए’ डिभिजन क्लब र आयोजक गरी ८ टिमले प्रतिस्पर्धा गर्ने शनिबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । आयोजक ब्राइट युथ क्लबका अध्यक्ष रमेश बुढाथोकीले तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र नेपाल एपीएफ क्लबसहित संकटा, हिमालयन शेर्पा, फ्रेन्ड्स, जावलाखेल युथ र आयोजकको एक टोलीले प्रतियोगितामा भाग लिने बताए । बुढाथोकी पूर्वराष्ट्रिय खेलाडी हुन् । उनले लामो समय नेपाल पुलिस क्लबबाट खेलेका थिए ।

अध्यक्ष बुढाथोकीले राजधानीमा निजी स्तरको क्लबले गर्न लागेको ‘ए’ डिभिजन स्तरको सम्भवत पहिलो नकआउट प्रतियोगिता भएको दाबी गरे ।

चन्द्रगिरि गोल्डकप विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्ने क्लबका उपाध्यक्ष कृष्ण बस्यालले जानकारी गराए । उनका अनुसार उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ३० हजार पाउने छन् । हरेक खेलका म्यान अफ द म्याचलाई ३ हजार प्रदान गरिनेछ ।

साथै सहभागी क्लबलाई हरेक खेल खेलेवापत ३० हजार म्याचमनी दिइने अध्यक्ष बुढाथोकीले बताए । उनले चन्द्रागिरिको ऐतिहासिक महत्त्वलाई उजागर गर्नुका साथै राजधानीमा निजी क्षेत्रबाट स्तरीय प्रतियोगिता होस् भन्ने उद्देश्यमा चन्द्रागिरि गोल्डकप सुरुआत गरिएको बताए । उनका अनुसार आयोजक टिम भने चन्द्रागिरि नगरपालिकाभित्रका र बाहिरका केही खेलाडी समेटेर बनाइएको छ ।

करिब ५५ लाख बजेट रहेको प्रतियोगिताको मुख्य प्रायोजकमा नेपाल जनरल मार्केटिङको हिरो मोटरसाइकल रहेको छ । त्यस्तै चन्द्रगिरि नगरपालिका, ब्राइट फ्युचर स्कुल, युनाइटेड सिमेन्टलगायत विभिन्न संघसंस्था, व्यक्तिको सहयोग रहने क्लबका प्रवक्ता देवेन्द्र प्रधानले बताए । जनरल मार्केटिङकी शीतल दाहालले आगामी वर्षहरूमा प्रतियोगिताको प्रायोजन दायरालाई फराकिलो पार्दै लैजाने बताइन् । यसपल्टको प्रायोजनसम्झौता भने आयोजकले खुलाउन चाहेन ।

सहभागी टोलीले दुई समूहमा रहेर नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् । समूह ‘ए’ मा आयोजक ब्राइट युथ, फ्रेन्ड्स, नेपाल पुलिस र संकटा क्लब छन् । आर्मी, एपीएफ, जावलाखेल र हिमालयन शेर्पा समूह ‘बी’ मा छन् । कात्तिक २८ मा आयोजकले फ्रेन्ड्ससँग खेल्नेछ ।

कात्तिक २९ मा आर्मी र जावलाखेल, कात्तिक ३० मा पुलिस र संकटा ताथ मंसिर १ मा हिमालयन र एपीएफले आफ्नो पहिलो खेल खेल्नेछन् । विजेता टोली सेमिफाइनल पुग्नेछ ।

 

जततउस्ररपबलतष्उगच।भपबलतष्उगच।अयmरलभधकरद्दण्ज्ञठ(ज्ञज्ञ(ज्ञद्दरद्दण्ज्ञठज्ञज्ञज्ञद्दण्टछठछद्द।जतmि

विशेष