कप्तान अनिल गुरुङले लिए सन्यास, फिलिपिन्सविरुद्धको खेल बराबरी

काठमाडौं । कप्तान अनिल गुरुङको अन्तिम खेलमा नेपालले एसिया कप फुटबलको छनोटअन्तर्गत आफ्नो पाँचौ खेलमा फिलिपिन्सविरुद्ध बराबरी खेलेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । नेपाली फुटबल टोलीका कप्तान अनिल गुरुङले मंगलबारको उक्त खेलपछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । १० वर्षअघि राष्ट्रिय टोलीमा डेब्यु गरेका अनिलले अन्तराष्ट्रिय खेलमा ९ गोल गरेका छन् ।
अनिलले आफ्नो ५० अन्तराष्ट्रिय खेल पूरा गर्दै सन्यास लिएका हुन् । भारतको सिक्किम लाजोङ क्लबमा ६३ लाख रुपैयाँमा अनुबन्ध भएका उनी सबैभन्दा महँगो मूल्यमा विदेशी क्लबमा अनुबन्ध हुने नेपाली खेलाडी पनि हुन् ।
यसअघि गएको चैतमा भएको अवे खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ ले पराजित भएको थियो । फिलिपिन्स नौ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरी ६ अंक नै जोडेको ताजकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ ।
छनोट चरणको एक खेल पनि जित्न नसकेको नेपालले एक अंक मात्र जोड्न सफल भएको छ । यसैसाथ नेपाल गणितीय हिसाबबाट बाहिरिइसकेको छ ।
nepali football anil gurung